दाउरा बेचेर सरकारले कमायो १ करोड ७० लाख

काठमाडौं, १० पुस ।
भारतीय नाकाबन्दीले खाना पकाउने ग्यास लगायत इन्धन अभाव भएपछि सर्वसाधारणलाई दाउरा बेचेको सरकारलाई डेढ करोड बढी रुपैयाँ आम्दानी भएको छ ।
भारतीय नाकाबन्दी खाना पकाउने ग्यासको अभाव हुँदा सरकारले डेढ महिनादेखि राजधानीमा दाउरा बेच्दै आएको छ ।

राजधानीका विभिन्न डिपोबाट दाउरा बेचेर ४० दिनमा १ करोड ७० लाख रुपैयाँ आम्दानी भएको वन मन्त्रालयले जनाएको छ ।  टीम्बर कर्पोरेसन अफ नेपाल (टीसिएन)बाट बिक्री भइरहेको दाउराबाट दैनिक ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गर्छ ।
सरकारले प्रतिकिलो १५ रुपैयाँमा प्रतिपरिवार १ सय किलोका दरले दाउरा बेचिरहेको छ । दाउरा बेच्न थालेको ४० दिन भइसक्दा समेत दाउरा बिक्री हुने डिपोमा सर्वसाधारणको चाप कम भएको छैन ।

यस्तै, संस्थागत रुपमा दाउरा लैजानेलाई भने प्रतिकिलो १७ रुपैयाँ लिइएको छ । पछिल्ला दिनमा चिसो बढेपछि राजधानीमा दाउराको खपत झनै बढेको टिम्बर कर्पोशरेशन अफ नेपाल (टीसीएन) ले जनाएको छ ।

दाउरा बिक्रीको सुरुवात गौशालाको पशुपति र ललितपुरको बालकुमारी डिपोबाट भएको थियो । सर्वसाधारणको सहजताका लागि भन्दै भक्तपुरको कमेरोटार र स्वयम्भुको भगवानपाउमा पनि नयाँ डिपो स्थापना गरिएको छ ।

टीसीएनसँग काठमाडौंमा अहिले झण्डै ३० हजार किलो दाउरा मौज्दात छ ।सरकारले झण्डै १२ लाख किलो दाउरा काठमाडौं ल्याइसकेको जनाइएको छ ।