सुदूरपश्चिममा ३ हजार बढी क्षयरोगी

दिपायल, १० पुस ।
हालसम्म पनि सुदूरपश्चिममा ३ हजार बढी सर्वसाधारण क्षयरोगबाट प्रभावित छन् ।  सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार ९ जिल्लामा ३ हजार ३ सय जनामा क्षयरोग छ । जसमध्ये १ हजार १ सय ३९ महिला र २ हजार २ सय २० पुरुष छन् ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७१÷७२ मा सर्ने खालको क्षयरोगीको संख्या १ हजार ६ सय ४९ छ । जसमध्ये ५ सय ४६ महिला र १ हजार १ सय ३० पुरुष छन् ।

क्षयरोगका बिरामीमध्ये ४ सय २४ जना पुनः उपचार गर्नुपर्ने देखिएको क्षेत्रीय क्षयकुष्ठ निरीक्षक मनोज ओझाले बताए । ओझाका अनुसार क्षयरोगका बिरामीमध्ये ७५ प्रतिशतमा फोक्सोको टिबी छ ।

जनसङ्ख्याका आधारमा तथ्याङ्क लिँदा कञ्चनपुरमा सबैभन्दा बढी प्रतिलाख १८० जना क्षयरोगी रहेका छन् भने सबैभन्दा कम अछाममा प्रतिलाख ७० जना बिरामी रहेका छन् ।

सुदूरपश्चिममा प्रतिलाख १२५ जना क्षयरोगी भएको क्षेत्रीय क्षयकुष्ठ निरीक्षक ओझाले बताए । क्षयरोगीमध्ये १५–४९ उमेर समूहमा धेरै छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ५ सय ५२ जना क्षयरोगी १५–४९ उमेर समूहका रहेका छन् ।