प्रज्ञा प्रतिष्ठानमा ‘योमरी’ को चर्चा

काठमाडौँ, ९ पुस ।
नेवार समुदायको मौलिक पर्व योमरी पुन्हीका विषयमा जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले ‘योमरी चाडका आयामहरु’ बारे चर्चा चलाएको छ ।

वरिष्ठ सँस्कृतिविद् सत्यमोहन जोशीले प्रकृतिको पुजनका रुपमा योमरी चाडलाई लिनुपर्नेमा जोड दिँदै योमरीले नेवार समुदायका मानिसको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । अमेरिकाको उदाहरण दिँदै जोशीले भने, ‘अमेरिकाले समेत वर्षको एक दिन पृथ्वीलाई धन्यवाद दिनका लागि भनेर धन्यवाद दिवस मनाउने गरेको छ । उक्त दिन सार्वजनिक बिदा दिएर सबैले पृथ्वीको विशेष रुपमा धन्यवाद ज्ञापन गर्ने गरिन्छ ।’

समुदायअनुसार योमरी पुन्हीको फरक–फरक महत्व हुने जोशीले बताए । ज्यापू समाजले यो दिनलाई ज्यापू दिवसका रुपमा मनाएर नयाँ थालनी गरेको जोशीले जानकारी दिए ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालका विभिन्न समुदायका चाडले हामी सबैको जनजीवनको प्रतिनिधित्व गर्ने बताए । विविध जनजातिको चाड, समुदायलाई चिनाउने छलफल गर्ने अभियानका रुपमा प्रतिष्ठानले यस्तो कार्यक्रमको आयोजना सुरु गरेको जानकारी दिए ।

कार्यक्रममा सँस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले ‘योमरी चाडका आयामहरु’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले योमरीको सुरुवात, यसको प्रयोग, नेवार समुदायमा यसको प्रयोग, अन्य समुदायमा यसको प्रयोगलगायतका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरे, सदस्य सचिव प्राडा जीवेन्द्रदेव गिरी र प्राध्यापक फणिन्द्ररत्न बज्राचार्यले योमरी चाडलाई सामाजिक सद्भाव फैलाउने चाडका रुपमा व्याख्या गरे ।