उमेरले पाका तर कलामा भर्खरका कलाकार खड्का

काठमाडौं ।
उमेरले पाका कलाकार पुरन खड्का कलाकारिता क्षेत्रमा आफूलाई भर्खरका सम्झन्छन् ।

ललितकला पत्रकार समाजले उनीसँग आज यहाँ गरेको साक्षात्कारमा कलाकार खड्काले आफूलाई कला यात्रा सुरु भएपछि नै आफ्नो पुनः जन्म भएको ठान्छन् । अछाममा जन्मिएका कलाकार खड्का आफ्नो जीवनको ६० वर्षमा हिंडिरहेका छन् ।

बौद्धस्थित होटल हायतमा रहेको तारागाउँ सङ्ग्रहालयमा उनको एकल चित्रकला प्रदर्शनी भइरहेको छ । यही पुस १ गतेदेखि सुरु भएको सो प्रदर्शनी पुस १६ गतेसम्म चल्नेछ ।  कार्यक्रममा सञ्चारकर्मी बिनिता मरहठ्ठाले उनीसँग विशेष साक्षात्कार गरेकी थिइन् ।

कक्षा ६ मा पढ्दादेखि नै कलाकारितामा विशेष रुचि राख्दै आएका कलाकार खड्काले विगत १५ वर्षदेखि अमूर्त चित्रकलामा दख्खल रहेको बताउँछन् ।

‘सम्पूर्णता’ नाम दिइएको उनको चित्रकलामा सेतो, रातो, कालो र खैरो रङ्गले प्राथमिकता पाएको छ । ‘सेतो र कालो रङ्ग जीवनको अर्को पाटो हो’, उनले भने  ‘हरेक मानिसको जीवनमा सकारात्मक र नकारात्मक पक्ष हुन्छ । जसलाई मैले सेतो र कालो रङ्गमा समेटेको छु ।’

उनले भने ‘जीवनको यथार्थलाई अमूर्त कलामा देखेँ, त्यसैले म अमूर्त कलालाई बढी साथ लिइरहेको छु ।’