व्यावसायिक र नयाँ कलाकारका चित्रकला एकसाथ

पुुस, ८ काठमाडौं । 

बबरमहलस्थित नेपाल कला परिषद्मा अलफ्रेस्को संस्थाले एकैसाथ नयाँ र पुराना कलाकारका तीन सय ७५ चित्रकला प्रदर्शनी गरेको छ ।
यही पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी मंगलबार सम्पन्न भएको हो । प्राथमिक तह, माध्यमिक तह, उच्च मावि र क्याम्पस तहका विद्यार्थीबीच गराइएको विभिन्न प्रतिस्पर्धामा पहिलो र दोस्रो हुने चित्रकलालाई प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा सुष्मा राजभण्डारी, प्रमिला बज्राचार्य, नरबहादुर विके, सन्ध्या रेग्मी, सुन्दर लामा, सुरेन्द्र प्रधान, इरिना ताम्राकारलगायतका व्यावसायिक कलाकारका चित्रकला समावेश थिए ।
व्यावसायिक कलाकारका चित्रकलामा समसामयिक तथा अमूर्त कलाले बढी स्थान पाएको थियो । धेरै चित्र शान्तिको ‘थिम’ मा आधारित थिए । बुद्धका विविध मुद्रालाई चित्रमार्फत् देखाइएको थियो ।
कलाकार सुन्दर लामाको चित्रमा भने अचम्भित मुद्रामा रहेका गणेशलाई देखाइएको थियो । गणेशका बाहन मुसाले ग्याँसको सिलिन्डरलाई गुडाइरहेको थियो । ग्याँसको चरम अभाव र त्यसले पारेको प्रभावलाई कलाकार लामाले आफ्नो कलामा यसरी प्रस्तुत गरेका थिए ।
बालबालिकाले बनाएको चित्रकलामा ‘ल्यान्डस्केप’ बढी देखिन्थ्यो । केही चित्रमा भने भूकम्पका बेला बालबालिकाले आफैँले भोगेको अनुभव र आफूले देखेको परिवेशलाई उतारेका थिए ।
अलफ्रेस्कोका प्रमुख श्यामकुमार श्रेष्ठले नयाँ कलाकारले उनीहरुको प्रतिभा बाहिर ल्याउने एउटा थलोको रुपमा यस प्रदर्शनीलाई लिएको बताए । ‘पुराना कलाकारका कला देखेर नयाँ भाईबहिनी केही सिक्न सक्छन् । उनीहरु प्रभावित भई कलामा नयाँ स्वाद थप्न सक्छन्,’ उनले भने ।
प्रदर्शनीमा नयाँ कलाकारका चित्रकला प्रदर्शनीमा थिए भने व्यवसायिक कलाकारका चित्रकला बिक्रीमा राखिएको थियो ।