राष्ट्रपतिमाथि अमानवीय कार्य गर्नेलाई कडाभन्दा कडा कार्वाहीको माग

पुस ७, काठमाडौँ—मानव अधिकारका लागि महिला एकल महिला समूहले पुस १ गते जनकपुरधाम जानकीमन्दिरमा पूजा अर्चना गर्ने क्रममा विधवा भएकै कारण राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अमानवीय तथा निन्दनीय कार्य गर्ने दोषीप्रति कडा कार्वाहीको माग गरेको छ ।
नेपालको संविधानले सबै प्रकारका विभेदलाई संवैधानिक रुपले अन्त्य र राष्ट्रले देशभित्रका सबै धर्म, सँस्कृति, परम्परा र रीतिरिवाजप्रति सम्मान तथा सबैको सहभागिता रहने संवैधानिक व्यवस्था र महिलाविरुद्ध भेदभाव उन्मुलनसम्बन्धी महासन्धि(सिड)धारा १ मा वैवाहिकताका आधारमा महिलाविरुद्धका भेदभाव अन्त्य गर्नुपर्ने व्यवस्था रहेको हुँदा एकल महिलाको सामाजिक, साँस्कृतिक, धार्मिक अधिकारमाथि भएको आक्रमणप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै दोषीलाई कडाभन्दा कडा सजाय दिलाई सबै एकल महिलाको सामाजिक, साँस्कृतिक तथा धार्मिक अधिकारको रक्षा गर्न आह्वान गरेको समूहका अध्यक्ष निर्मला ढुङ्गानाले बताउनुभयो ।
मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८, नेपालको संविधान २०७२ले सबै मानव स्वतन्त्र, एवम् समान हक र मर्यादामा बाँच्न पाउने अधिकारलाई स्थापित गरेको छ ।