माधव नेपालको घर तोडफोड भएपछि मोर्चासँग रिसायो एमाले

मंसिर ४, काठमाडौँ – मधेशी मोर्चाका कार्यकर्ताले आज नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा तोडफोड गरेपछि एमालेले ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा एमालेले चेतावनीको शैलीमा विज्ञप्ति निकालेर यस प्रकारको व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न मधेशी मोर्चालाई सचेत गराएको छ ।
मोर्चाका कार्यकर्ताले आज बिहान नेता नेपालको गौर–३ रौतहट स्थित घरमा तोडफोड गरेका थिए ।
पार्टी सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा राजनीतिक नेतृत्व तहका वरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन नसक्ने उल्लेख गर्दै यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित रहेको भनिएको छ ।
एमालेले यस्ता कार्य रोकी वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पनि आग्रह गरेको छ । तोडफोडबाट नेता नेपालको घरको गेट र झ्याल ढोकाका शिशा फुटेका छन् ।