प्रतिदिन २० लिटर तेल उपलब्ध गराउन ट्याक्सी व्यवसायीको माग

मंसिर ४, काठमाडौँ – ट्याक्सी व्यवसायीले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी र तस्करी रोक्न सरकारसँग माग गरेको छ ।

श्री स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकारसम्मेलनमा व्यवसायीले उपत्यकामा रहेका ३०० पेट्रोल पम्पलाई व्यवस्थित गरी वैज्ञानिक ढङ्गले इन्धनको बिक्री वितरण गर्न र ट्याक्सीलाई प्रतिदिन २० लिटर इन्धन उपलब्ध गराउन माग गरेका छन् ।

उपत्यकामा सञ्चालनमा रहेका सात हजार ५०० ट्याक्सीलाई पर्याप्त इन्धन उपलब्ध नगराए व्यवसाय ठप्प पारी ट्याक्सीको साँचो सरकारलाई बुझाउने चेतावनी सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् ट्याक्सी समस्या समाधान समितिका संयोजक राम थापाले दिनुभयो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सोमप्रसाद अधिकारीले सरकारको इन्धन व्यवस्थापन निक्कै कमजोर रहेको बताउनुभयो ।
ट्याक्सी व्यवसायीले यस अघि सरकारलाई आठबुँदे माग पत्र बुझाइसकेको छ । रासस