पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी

मंसिर १, परासी – इन्धनको अभावको कारण देखाउँदै नवलपरासीमा स्वयम् पेट्रोल पम्पहरुले नै व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका छन् ।

भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको पेट्रोल वा डिजेललाई पम्प सञ्चालकहरुले स्वयम् पम्पमा राखी पम्पबाटै चर्को मूल्यमा पेट्रोल र डिजेलको बिक्री वितरण गरी कालोबजारी गर्दै आएका हुन् ।

विशेष गरी नवलपरासीको दक्षिणी क्षेत्रका अधिकांश पेट्रोल पम्पले पेट्रोलियम पदार्थको कालोबजारी गरेका छन् । पम्पबाट सोझै पेट्रोल वा डिजेलको खुलेआम कालोबजारी हुँदासमेत प्रहरी प्रशासन मौन छ ।
देशभरि नै पेट्रोलियम पदार्थको हाहाकारसँगै जिल्लाको दक्षिणी क्षेत्रको गोपीगन्ज, सेमरीलगायतका अधिकांश दक्षिण क्षेत्रका पेट्रोल पम्पले चरम मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका हुन् ।
अझ यस्तो पेट्रोल वा डिजेलको कालोबजारी गर्ने कार्यमा पेट्रोलियम पदार्थ बोक्ने निजी ट्याङ्करसमेत प्रयोग गरिएको छ । यसरी पेट्रोलपम्पले प्रतिलिटर पेट्रोल रु ३०० र डिजेल रु २०० मा कालोबजारीमार्फत बाहिर जिल्लामा पठाउने गरेका छन् ।
पेट्रोल वा डिजेललाई खुलेआम पम्पबाटै प्रहरीको अगाडि पेट्रोलियम पदार्थको कालोबजारी गरी पेट्रोलियम पदार्थलाई महँगो मूल्यमा काठमाडौँ, चितवन, पोखरा, बुटवललगायतका क्षेत्रमा पठाउने गरेका हुन् ।
यसबारे पश्चिमाञ्चल डिलर एसोसिएसनका अध्यक्ष प्रेमनारायण पङ्गेनीले जिल्लाको ग्रामीण क्षेत्रका अधिकांश पेट्रोल पम्पले खुलेआम पम्पबाटै पेट्रोलियम पदार्थको कालोबजारी गरेको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो –“प्रहरी प्रशासन यसबारे मौन बसेपछि केही पेट्रोल पम्पले कालोबजारी गर्दै आएका छन् ।”

अहिले दैनिक करिब १० हजार लिटर पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याएर नवलपरासी हुँदै जिल्लाभित्र र बाहिर पठाउने काम हुँदै आए पनि प्रहरी प्रशासन पूर्ण रुपमा मुकदर्शक बनेको छ ।