राज्यबाट यस्तो सुविधा पाउँदै छन् पूर्वराष्ट्रपति, उपराष्ट्रपति र सभामुखले

कात्तिक १५ ,काठमाडौं – निवर्तमान राष्ट्रपति डा. रामवरण यादवसहित अवकाशप्राप्त विशिष्ट व्यक्तिलाई सरकारले विशेष निर्णय गरी सुविधा दिने तयारी गरेको छ । गृह मन्त्रालयको छलफलमा पूर्वराष्ट्रपतिलाई मात्र निवास सुविधा दिने तय भएको छ । पूर्वराष्ट्रपति डा। यादव, उपराष्ट्रपति परमानन्द झा, पूर्वसभामुख सुवास नेम्वाङलाई विशेष निर्णय गरी सुविधा दिन लागिएको हो ।

गृहको प्रस्तावमा पूर्वराष्ट्रपति डा। यादवलाई निवास निर्माण नभएसम्म घरभाडा, एउटा गाडी, मासिक दुई सय लिटर इन्धन, गाडी मर्मत खर्च, मसलन्द तथा अतिथि सत्कार खर्च दिने उल्लेख छ । त्यस्तै, निजामती कर्मचारीबाट एक अधिकृत, एक नासु र दुई कार्यालय सहयोगी पूर्वराष्ट्रपतिको निवासमा खटाइनेछ । अतिथि सत्कार खर्च कति दिने भन्ने निश्चित भइसकेको छैन । डा. यादव बिहीबार नै शीतलनिवासबाट बागडोल सरिसकेका छन् ।

निवर्तमान उपराष्ट्रपति परमानन्द झालाई अवकाशपछि घर मर्मत खर्च, गाडी, मसलन्द खर्च, मासिक एक सय ७५ लिटर इन्धन सुविधा दिने प्रस्ताव गृहको छ । त्यस्तै, एक अधिकृत र एक कार्यालय सहयोगी खटाइनेछ । पूर्वसभामुख सुवास नेम्वाङलाई पनि एउटा गाडी, मासिक एक सय ७५ लिटर इन्धन, केही अतिथि सत्कार खर्च, गाडी मर्मत खर्च दिने प्रस्ताव गरिएको छ । पूर्वसभामुखका लागि पनि एक नासु र एक श्रेणीविहीन कर्मचारी खटाइनेछ । नेम्वाङलाई मात्र यो सुविधा दिने प्रस्ताव गृहले अघि बढाउन लागेको छ ।
नयाँ पत्रिका दैनिकमा समाचार छ ।