दशैँका लागी थपेका अतिरिक्त उडानका टिकट पनि सकिए

 

असोज २८, काठमाडौँ – आन्तरिक वायुसेवाले दसैंका लागि थपेका अतिरिक्त टिकट पनि सकिएका छन्। नियमित उडानमा रहेका आन्तरिक वायुसेवाले प्रत्येक वर्ष दसैंलाई लक्षित गरी थप उडान सञ्चालन गर्छन।

सिम्रक एयरलाइन्सका बजार निर्देशक प्रज्वल थापाले दसैंका लागि घटस्थापनादेखि विजयादशमीको दिनसम्म थपिएका अतिरिक्त टिकट सकिएको जानकारी दिए। उनका अनुसार सिम्रिकले पोखराका लागि दैनिक दुईवटा, भैरहवामा एक र खानीडाँडाका लागि सातामा दुईवटा उडान थप गरेको छ।

यो वर्ष स्थलमार्गबाट जानका लागि सवारीसाधनको भरपर्दो व्यवस्था नभएका कारण हवाई टिकट चाँडैनै सकिएको उनको भनाइ छ । उनका अनुसार सबै गन्तव्यका लागि थप भएको अतिरिक्त उडानको टिकट अब मुस्किलले एक दुईवटा मात्रै पाउने अवस्था छ।

सिम्रिकले पोखराका लागि नियमति पाँच उडान गरिरहेको छ । पोखरामा उडान चाप बढेकोले सिम्रिकले थप गरेको उडान अक्टोबर महिनाभर सञ्चालन गर्ने तयारी गरेको छ।

सिम्रिकले दैनिक एउटा नियमित उडान गरिरहेको भैहरवामा पनि थप एक उडान सुरु गरेको छ। यो वायुसेवाले खोटाङको खानीडाँडा विमानस्थलमा सातामा दुईवटा उडान गर्ने तालिका रहेको भए पनि दसैं भरिका ला िचारवटा बनाएको जानकारी दिएको छ।

बुद्ध एयरले पनि बढी चाप हुने पोखरा, विराटनगर र भद्रपुरका लागि नियमतिको तुलामा तीनवटा सम्म उडान थप गरेको जानकारी दिएको छ। बुद्ध एयरका वरिष्ठ बजार निर्देश रुपेश जोशीका अनुसार नियमित पाँचवटा उडान रहेको विराटनगरका लागि थप तीन उडान राखिएको छ।

दैनिक दुई उडानको भद्रपुरका लागि दुई उडान थपेर चार बनाएको जोशीले बताए।उनका अनुसार पोखरा, विराटनगर, भद्रपुरमा उडान थप गरेर पनि टिकट पाउन गाह्रो छ। तर, अन्य गन्तव्यमा भने उडान चाप छैन।

बढी यात्रु चाप हुने गन्तव्यमा उडान थप भएका छन् भने अन्यमा पूर्णक्षमतामा यात्रु नै नपाइने अवस्था छ। यती एयरलाइन्सका कर्मचारी कतिपय क्षेत्रमा दसैंमा पनि यात्रु चाप नरहेको अन्नपूर्णले छापेको छ ।

यो वायुसेवाले पनि विराटनगर, पोखरा र भद्रपुरसहितका गन्तव्यमा उडान थपेको छ । नियमित उडानका टिकट भने यस अघि नै सकिसकेका छन्।