मन्त्रीका आकांक्षी बढेपछि एमाओवादीमा चुलियो विवाद

असोज २८, काठमाडौँ – एमाओवादीभित्र मन्त्रीका आकांक्षी बढेपछि सरकारमा जाने टोलीको टुंगो लाग्न सकेको छैन । सभामुखका उम्मेदवार र सरकारमा जानेहरू तय गर्न अध्यक्ष पुष्पकमल दाहालनिवास लाजिम्पाटमा बुधबार बसेको स्थायी समितिको बैठक निष्कर्षविहीन भयो । कान्तिपुर दैनिकमा समाचार छ ।

शुक्रबार हुने सभामुखको निर्वाचनका लागि बिहीबार २ बजेसम्म मनोनयन दर्ता गरिसक्नुपर्नेछ । ‘छलफल जारी छ तर टुंगिसकेको छैन । भोलि बिहान फेरि स्थायी समिति बैठक बसेर टुंग्याउने कुरा भएको छ,’ स्थायी समिति सदस्य अग्नि सापकोटाले बुधबार भने । एमाओवादीले सभामुख, उपराष्ट्रपति र उपप्रधान तथा गृहमन्त्रीसहित ८ मन्त्रालय लिने गरी एमालेसँग सहमति भएको दाबी गरेको छ । एमाओवादीबाट कृषिमन्त्रीका रूपमा हरिबोल गजुरेलले सोमबारै शपथ लिए पनि सरकारमा पार्टीको नेतृत्व कसले गर्ने र को–को मन्त्री बन्ने टुंगो लागेको छैन ।
एमाओवादीले यसअघि सभामुखमा महासचिव कृष्णबहादुर महरालाई अघि बढाउने तयारी गरे पनि उनी इच्छुक छैनन् । महरालाई सभामुखमा पठाएर पार्टीबाट सरकारको नेतृत्व गर्न वरिष्ठ नेता बाबुराम भट्टराई पार्टीमा छँदा उनका ‘खास’ मानिएका सचिव टोपबहादुर रायमाझीलाई पठाउने तयारी थियो । तर महराले सभामुखभन्दा उपप्रधान तथा गृहमन्त्रीका रूपमा पार्टीबाट सरकारमा आफैंले नेतृत्व गर्ने इच्छा देखाएपछि अध्यक्ष दाहाल अप्ठ्यारोमा परेका छन् । सभामुख बन्दा पार्टी महासचिव पनि त्याग्नुपर्ने र राजनीतिक ‘करिअर’ बिग्रने भन्दै महराले अनिच्छा व्यक्त गरेका हुन् ।