गौशालामा हतियारधारी समूहबाट लाखौँको लुटपाट

असोज २६, महोत्तरी- महोत्तरीको गौशालामा हतियारधारी समूहबाट लाखौँको लुटपाट भएको छ । गौशाला नगरपालिका– ८ का मनोज साहको घरमा गएराति हतियारधारीको समूहले पेस्तोल देखाई रु १० लाख बराबरको लुटपाट गरेको हो ।

घरको पछाडि बाँसको सहाराले घरभित्र पसेको सो समूहले रु पाँच लाख नेपाली, एक लाख भारु, एक थान मोबाइल, दुई तोला सुन, एक तोला चाँदी लुटपाट भएको पीडित मनोज साहले बताउनुभयो ।

समयमै प्रहरी घटनास्थलमा पुगेपछि थप लुटपाटबाट जोगिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो । रासस