सरकारमा जान महरा र टोपबहादुरबीच विवाद

असोज २६, काठमाडौँ – एकीकृत माओवादीमा पार्टीको तर्फबाट सरकारको नेतृत्वको विषयलाई लिएर विवाद देखिएको छ । महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी दुबैले पार्टीको तर्फबाट सरकारको नेतृत्व दाबी गरेपछि विवाद देखिएको हो ।

दुबैले पार्टीको तर्फबाट उपप्रधान तथा गृह मन्त्रालय दाबी गरेका छन् । गठबन्धन सरकारमा एमाओावदीलाई गृहसहित ६ देखि ८ मन्त्रालयसम्म दिने सहमति दुई दलबीच भएको छ । सोही सहमतिका आधारमा निर्णय लिन सोमवार विहान बसेको पदाधिकारी बैठकमा महासचिव महरा र सचिव रायमाझी दुवैले पार्टीको तर्फबाट सरकारको नेतृत्वको दाबी गरेपछि अध्यक्ष प्रचण्ड अप्ठ्यारोमा परेको राजधानी दैनिकमा खबर छ ।

महराले पार्टीमा आफू बरिष्ठ भएको र विगतमा पनि गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको भन्दै दाबी प्रस्तुत गरेका छन् भने रायमाझीले संसदीय दलको उपनेता आफू भएको र विगतमा गृहमन्त्रालय महराले सम्हालिसकेकोले यसपटक आफूलाई जिम्मेवारी दिनुपर्ने आफ्नो दाबी प्रस्तुत गरेका छन् ।