नाका खुलेसँगै भारतबाट ठूलो परिमाणमा पेट्रोलियम भित्रिँयो

असोज २६, काठमाडौँ – भारत पक्षद्वारा गरिएको अघोषित नाकाबन्दी खुकुलो भएपछि पेट्रोलियम पदार्थका ट्याङ्कर लगायतका मालबाहक सवारी धमाधम भित्रिन थालेका छन्।आइतबार र सोमबार पूर्ण ठप्प रहेको जोगबनी भन्सारमा मंगलबार विहानै पेट्रोलियमका ट्याङकर भित्रिएका छन्।

विराटनगर भन्सार कार्यालयका अनुसार मंगलबार विहान ७० वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नेपाल आइसकेका छन्। ‘आइतबार र सोमबार एउटा पनि मालबाहक सवारी आएका थिएनन्,’ विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार ‘मंगलबार विहानैदेखि भारतबाट मालबाहक सवारी आउन थालेका छन्।’
त्यस्तै, ग्यास बोकेका १५ वटा बुलेट पनि भित्रिएका छन् । अन्य सामग्री बोकेका ७० वटा गाडी पनि नेपाल छिरेका छन्। भारतबाट आइपुगेका बुलेट र ट्याङ्करलाई मंगलबारै नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोमा पुर्‍याउने प्रहरीले जनाएको छ।
‘डिपोमा पुगेका बुलेट र ट्याङ्कर बुधबार गन्तव्यमा पुग्नेछन्,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले भने, ‘सिमा क्षेत्रमा आन्दोलनकारी नदेखिएकाले आपूर्ति सहज हुने विश्वास गरेका छौं।’
स्थानीय प्रशासनले पेट्रोलियम र ग्यासका गाडी भित्रिन थालेकाले दसैंमा सर्वसाधारणलाई सजिलो हुने जनाएको छ। ग्यास र पेट्रोलियमका सयौं गाडी भारततिर रोकिएका थिए।