भोलि ३ बजेदेखि सबै पम्पबाट तेल पाइने, तेल हाल्न जाँदा बिलबुक लैजान बिर्सेला नि !

असोज २५ काठमाडौँ – उपत्यकामा मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पबाट पेट्रोल–डिजेल वितरण हुने भएको छ । उपत्यकामा रहेका करिब एक सय २५ पम्पले दिउँसो तीन बजेबाट निजी सवरीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपांग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउने छन् ।

भारतले नाकाबन्दीको गरेको साता दिनदेखि नै आयल निगमले निजी सवारीलाई इन्धन वितरण रोकेको थियो । तर, दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पले इन्धन वितरण गर्ने व्यवस्था मिलाएको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए । ‘मंगलबार दिउँसो ३ बजेबाट उपत्यकाका सबै पम्पले इन्धन वितरण गर्नेछन्,’ उनले भने, ‘उपभोक्ताले सवारीसाधनको बिलबुक साथमै लिएर आई इन्धन भर्नुहोला ।’
तोकिएको परिमाणअनुसार इन्धन भरेर बिलबुकमा आयल निगमको लोगोअंकित छाप लगाउने व्यवस्था भएकाले बिलबुक अनिवार्य लिएर आउन आग्रह गरेको उनले बताए । ‘सवारीसाधनमा इन्धन भरेपछि बिलबुकमा आयल निगम अंकित लोगो लगाइदिन्छौँ,’ शर्माले भने, ‘एउटा पम्पमा तेल भरेको सवारीसाधनले फेरि अर्को पम्पमा गएर इन्धन नभरोस् भन्नका लागि बिलबुकमा छाप लगाउने निर्णय भएको हो ।’ आइतबार साँझ निगम पदाधिकारी र पेट्रोलियम व्यवसायी बैठक बसी मंगलबार ३ बजेबाट सर्वसाधारणलाई इन्धन दिने निर्णय भएको हो । उपत्यकाको सामान्य अवधिको दैनिक पेट्रोल खपत तीन लाख ५० हजार र डिजेल खपत चार लाख ५० हजार हो ।
तर, निजी सवारीले धेरै दिनदेखि इन्धन नपाएको र पाँच लिटर तथा १५ लिटरका दरले वितरण गर्ने भएकाले बढी वितरण गर्न लागिएको उनले बताए । ‘यो परिमाणले उपत्यकाका निजी सवारीसाधनलाई इन्धन पुर्‍याउन सकिन्छ भन्ने अपेक्षा छ,’ उनले भने । उपत्यकामा करिब सात लाखको संख्यामा मोटरसाइकल मात्रै दर्ता भएका छन् । त्यस्तै करिब एक लाख ३० हजार कार, जिप र भ्यान दर्ता भएका छन् । वितरणमा ढिलाइ किन ? थानकोट डिपो प्रमुख रविनकुमार शर्माले मंगलबार थानकोट डिपो बिहान ७ बजे नै खोल्ने बताए । ‘मंगलबार थानकोट डिपो ७ बजे खोल्छु र १० बजेअगावै ट्यांकरमा इन्धन भर्न सुरु गर्छु,’ उनले भने । उपत्यकामा इन्धन ढुवानीका धेरै ट्यांकर छैनन् ।
व्यवसायीसँग भएका ट्यांकर तेल लिन भारत गएका छन् । त्यसैले हाल एक दिनमा करिब ६ लाख ५० हजार लिटर इन्धन ढुवानी गर्ने ट्यांकर मात्रै छन् । निगमले मंगलबार ५ लाख ५० हजार लिटर पेट्रोल र चार लाख लिटर डिजेल गरी ९ लाख लिटरभन्दा बढी इन्धन वितरण गर्ने योजना बनएको छ । एउटै ट्यांकर दुई–तीनपटक तेल भर्ने र पम्पमा लगेर खन्याउन लगाउने गरेर भए पनि तोकिएको परिमाण ढुवानी गर्ने योजनामा रहेको शर्माले बताए । ‘एउटै ट्यांकरलाई दुई–तीनपटक तेल ओसार्न लगाउने योजनामा छौँ,’ उनले भने । १२ हजार लिटर क्षमताको एउटा ट्यांकर भर्न आधा घन्टा लाग्छ । थानकोट डिपोले एक घन्टामा चारवटा गाडी मात्रै भर्ने क्षमता राख्छ ।
‘एकैपटक धेरै गाडी भर्ने क्षमता छैन, बिस्तारै भर्ने भएकाले पनि समय लाग्छ,’ उनले भने । घन्टौँ लगाएर डिपोमा तेल भरेपछि सम्बन्धित पम्पमा पुग्न समय लाग्छ । पम्पमा पुगेको ट्यांकरबाट तेल झार्न फेरि एक घन्टा लाग्छ । ‘यसो गर्दा ३ बजेसम्म सबै पम्पलाई इन्धन पुर्‍याउन सकिन्छ र उनीहरूले वितरण सुरु गर्छन् भन्ने छ,’ उनले भने । दिउँसो ३ बजेबाट भने सबै पम्पले एकसाथ इन्धन वितरण गर्ने उनले बताए । ‘एउटै पम्पमा लामो लाइनमा नबस्नू’ आयल निगमको थानकोट डिपोले मंगलबार सवारीको चाप हुने स्थानलाई मध्यनजर राखेर पम्पहरुलाई इन्धन वितरण गर्ने जनाएको छ । ‘जुन ठाउँमा बढी सवारीसाधनको चाप छ, त्यस क्षेत्रका पम्पलाई धेरै इन्धन दिन्छौँ,’ डिपो प्रमुख रबिन शर्माले भने, ‘सवारीसाधनको कम चाप रहेको क्षेत्रमा रहेका पम्पलाई कम तेल दिन्छौँ । त्यसैले एउटै पम्पमा लामो लाइन नबस्न पनि उपभोक्तालाई मेरो आग्रह छ ।’
उपभोक्ताले प्रहरी, सेना, सशस्त्र र साझाका पम्पमा लामो लाइनमा बस्ने गरेका छन् । तर, मंगलबार सबै पम्पमा तेल पाइने भएका कारण एउटैमा लामो लाइन नबस्न निगमले आग्रह गरेको छ । उनका अनुसार नाकाबन्दीपछि थानकोटमा २० लाख लिटर पेट्रोल र २४ लाख लिटर डिजेल थपिएको छ । दसैँका गाडीलाई तेल दिन सुरु दसैँमा राजधानीबाट बाहिरी जिल्लाका यात्रु ओसार्ने लामो रुटका बसलाई आयल निगमले आइतबारबाट इन्धन उपलब्ध गराउन थालेको छ ।
आइतबार चार लाख १० हजार लिटर डिजेल वितरण गरेको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले बताए । ‘बसपार्क क्षेत्रनजिकै रहेका पम्पलाई धेरै डिजेल वितरण गरिरहेका छौँ र दसैँमा यात्रु ओसार्ने लामो रुटका बसलाई त्यही पम्पबाट इन्धन उपलब्ध गराइरहेका छौँ,’ उनले भने । नयपत्रिका