प्रधानमन्त्री ओलीको यात्रा: चरम गरिबीदेखि सिहंदरबारसम्म

असोज २५ काठमाडौँ – शारीरिक रुपमा जोतिनुपर्ने कामका लागि सधैँ अल्छी गर्ने स्वभावका केपी ओली त्यस्ता काम साथीहरुलाई गर्न लगाउँथे। उनलाई नजिकैबाट चिन्नेहरुका अनुसार आफू नभिडे पनि कुन काम कसरी गर्ने भनेर साथीहरुलाई सिकाउन चाहिँ उनी सधैँ अघि सर्थे ।

‘बिहान अबेरसम्म सुत्नुपर्ने, पढाई र अन्य काममा भन्दा राजनीतिक गतिविधिमा बढ्ता रुची थियो’, ओलीको प्रारम्भिक राजनीतिक यात्राकै बेलादेखि उनीबारे जानकार एमाले नेतृ विशेश्वरा दाहाल भन्छिन् ‘राम्ररी मिलाएर बोल्न जान्ने उहाँमा अरुलाई कन्भिन्स गराएर काम लगाउने खुबी प्रचुर थियो । ‘ कुनैबेला चरम गरिबीले सताइएर अर्काको घरमा शरण लिन बाध्य बनेका तिनै ओली त्यही नेतृत्वकारी क्षमताकै बलमा नेपालको ३८ औं प्रधानमन्त्री बनेका छन्। त्यो पनि कुनैबेला भारतपरस्त भनेर निकै आलोचित उनी यसबेला भारतीय संस्थापनसँग सिधा टक्कर दिएर प्रधानमन्त्री बनेको जस पाउने अवस्थामा छन् ।
झापा शरणामतिको बगरबाट सुरु भएको उनको संघर्षशील यात्राले जसै मुलुकको कार्यकारी प्रमुखको गन्तव्य पायो, यहाँसम्म आइपुग्दा उनले संघर्ष र धैर्यतालाइई मुख्य हतियार बनाउको उनका सहयात्रीहरु बताउँछन्। ‘चरम अभावको जीवनबाट संघर्ष, जेल र राजनीतिक यात्रामा उहाँको लगन र धैर्यता मुख्य हतियार थिए’, झापा विद्रोहदेखि नै उनका सहयात्री रहेका एमाले नेता नरेश खरेल भन्छन् ‘देश र जनताका लागि निरन्तर संघर्ष गर्न सक्ने उहाँको खुबी अनुकरणीय छ ।’
तेह्रथुमबाट झापा झरेर शरणामतिमा खेतीपाती गर्दै गुजारा चलाइरहेको परिवारको घरखेत कनकाईको बाढीले बगाएपछि केपी ओलीको परिवार लगभग सुकुम्बासीको हैसियतमा झर्यो । भएको घरखेत खोलाले लगेपछि लेखपढको त कुरै छाडौं, परिवारलाई छाक टार्ने समस्याले बढी सताउँथ्यो । त्यहीबेला उनी रामनाथ दाहालको घरमा बसेर घैलाडुब्बा स्कुल पढ्न थाले । रामनाथ दाहाल, तत्कालीन मालेले योजना बुनेको झापा विद्रोहका नेता थिए । विशेश्वरा तिनै रामनाथकी पत्नी हुन् । उनका अनुसार कक्षाको पढाईमाभन्दा अन्य गतिविधिमा रुची राख्ने उनी सानैदेखि तिख्खर थिए । नागरिक