एएफसी यु–१९ फुटबलमा आज नेपाल र जोर्डन भिड्दै

असोज १९, काठमाडौँ – एएफसी अण्डर नाईन्टिन फुटबल प्रतियोगिता छनोट चरणको अन्तिम खेलमा मंगलबार(आज) नेपालले जोर्डनको सामना गर्दैछ ।

ईरानमा जारी प्रतियोगिताको सुरुवाती दुई खेलमा जित हात पार्न नसकेको नेपाल आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयोजक इरानसँग १०–० को फराकिलो अन्तरमा रेको नेपालले दोस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो ।
आजको खेल जितेको खण्डमा नेपालको अर्को वर्ष बहराइनमा हुने प्रतियोगितामा छनोट हुने सम्भावना जिवित रहन्छ । तर त्यसको लागि समुहको अर्को खेलमा इरानले कुवेतलाई हराउनुपर्ने हुन्छ । समुहका दुई खेल सकिँदा ६ अंक जोडेको ईरान शीर्ष स्थानमा रहेको छ । ४ अंकका साथ कुवेत दोस्रो स्थानमा छ भने एक अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।
लगातार दुई खेल हारेको जोर्डनले भने अंकको खाता खोल्न सकेको छैन । एसियाका ४३ राष्ट्रलाई १० वटा समुहमा विभाजन गरी छनोट प्रतियोगिता चलिरहेको छ ।
प्रत्येक समुहका विजेता, ५ वटा उत्कृष्ट उपविजेता टोली र आयोजक बहराईन समेत गरी कुल १६ टोलीले अर्को वर्ष बहराइनमा हुने एएफसी अण्डर नाइन्टिन फुटबलमा सहभागिता जनाउने छन् ।