कति ट्यांकर भित्रिए, कति रोकिए ?

असोज १९, काठमाडौँ – भारतले अघोषित नाकाबन्दी फिर्ता लिएको तेस्रो दिन सोमबार विराटनगर भन्सारमा २७ वटा इन्धन बोकेका ट्यांकरसहित करिब एक सय गाडी भित्रिएका छन् । सोमबार दिउँसो ३ बजेसम्म जोगबनी नाकामा रोकिएर बसेका दुईवटा ग्यासका बुलेट, १४ ट्यांकर डिजल र ११ ट्यांकर पेट्रोलसहित करिब एक सयवटा सवारी विराटनगर भन्सारको यार्डमा भित्रिएका हुन् ।

‘अपराह्नसम्म ६४ वटा मालबाहक सवारी यार्डमा भित्रिसकेको र अन्य आउनेक्रम जारी छ,’ विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेतले भने । उनका अनुसार राति नौ बजेसम्म भन्सार खुला गरेर सवारी यार्डमा भित्र्याइनेछ । आइतबार साँझ भन्सार भित्रिएका २५ वटा सवारीलाई प्रहरीले स्कर्टिङ गरेको थियो । प्रहरीले भन्सारको दुई नम्बर ढाटमा धर्नामा बसेका संयुक्त मधेसी मोर्चाका कार्यकर्तालाई हटाएर स्कर्टिङ गराएको थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सोमबार भारतको पश्चिम बंगालस्थित सिलगुडी टर्मिनल डिपोले ६ ट्यांकर मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराएको छ । नेपालको मागअनुसार तत्काल दिन नसकिने भन्दै उसले ६ वटा ट्यांकरमा मात्रै इन्धन भरेको हो । नेपाली पक्षको तीव्र दबाबपछि भारतीय पक्षले तीन ट्यांकर डिजेल, दुई ट्यांकर पेट्रोल र एक ट्यांकर हवाई इन्धन उपलब्ध गराएको मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ । यद्यपि इन्धन लोड भएका ट्यांकर सोमबार राति अबेरसम्म काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका छैनन् ।

पेट्रोलियम पदार्थ बोकेका गाडी नेपालतर्फ हिँडे पनि पानीट्यांकी नाकाको जामका कारण नेपाल प्रवेश सहज छैन । भन्सार जाँचपासमा भारतीय पक्षले विलम्ब गर्दै आएकाले पेट्रोलियम पदार्थ नेपाल आइपुग्न अझै समय लाग्ने व्यवसायी बताउँछन् । पालो प्रक्रियामा राखेर भन्सार जाँचपास गर्ने हो भने ती ट्यांकरले मंगलबार पनि नेपाल प्रवेशको अनुमति नपाउने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाले बताए