सुदूरपश्चिममा पनि देखियो टाइफस ज्वरो,ज्वरोबाट दुई महिलाको ज्यान गयो

राजेन्द्र रावल

असोज १८ , कैलाली – केही समय अगाडि नेपालको पूर्वी जिल्लामा देखिएको टाइफस ज्वरो रोग सुदूरपश्चिममा पनि देखिएको छ । वर्षातको मौसम सकिएसंगै यो रोग देखा परेको हो । टाइफस ज्वरोबाट सेती अञ्चल अस्पतालमा दुई महिलाको ज्यान गएको छ । असोज ८ गते कृष्णपुर–१ कञ्चनपुरकी २५ वर्षीया लक्ष्मी चौधरी र भदौं २६ गते कैलाली स्थित उर्माकी १६ वर्षीया मिना सार्कीको ज्यान गएको अस्पतालले जनाएको छ ।

सेती अञ्चल अस्पतालले गत साउन महिनाबाट शङ्काको भरमा विरामीको रगत सङ्कलन गरेको थियो । ३१ जना विरामीको रगत परीक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाण्डौं पठाउँदा १५ जनामा टाइफस प्रमाणित भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. गणेश बहादुर सिंहले जानकारी दिनुभयो । मुसा, विरालो, खरायो, कुकुर लगायतका जनवारमा हुने उँपीया, उडुस, जुम्राले मानिसलाई टोकेमा ब्याक्टेरियाका कारण टाइफस रोग देखा पर्छ । यो रोग लागेको विरामीमा अचानक उच्च ज्वरो, टाउको, मासपेशी दुख्ने, वान्ता हुने, झाडापखाला जस्ता लक्षण देखिन्छ ।