क्यान महासंघद्वारा ‘आइटी टेक टक’ सुरु, ‘नेपालमा इ–कमर्सको अवस्था’ का वारेमा छलफल

असोज १८, काठमाडौं – कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले सुरु गरेको आइटी सम्वन्धी कार्यक्रम ‘आइटी टेक टक’ अन्तर्गत पहिलो श्रृंखला सम्पन्न भएको छ । कार्यक्रमको पहिलो श्रृंखला अन्तर्गत ‘नेपालमा इ–कमर्सको अवस्था’ का वारेमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

नेपालमा इ–कमर्सको प्रवेश, विकास क्रम, अवसर, समस्या, चुनौती र भविष्यका सम्भावनाहरुका वारेमा विषयविज्ञहरुले धारणा राखेका थिए । कार्यक्रममा इ–कमर्सको विश्वव्यापी अवस्था र नेपालको अवस्थावीच तुलनात्मक विश्लेषण गरी चुनौतीको सामना गर्ने उपायहरुका वारेमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख वक्ता रुपमा रहनु भएका मुन्चा डटकमका सिइओ अमृत तुलाधरले बजार विस्तारका लागि उपभोक्ताहरुको संख्या बढ्नुका साथै इ–कमर्स संचालकहरुले उपभोक्ताहरुबाट विश्वास जित्न आवश्यक रहेको औल्याउनु भयो । “इ कमर्समा मुख्य कुरा विश्वास र गुणस्तरीय सेवा हो, यसमा विशेष ध्यान दिनुपर्छ ।” त्यस्तै कार्यक्रमका अर्का वक्ता फुडमाण्डु डटकमका सिइओ मनोहर अधिकारीले नेपालमा इ–कमर्सको विकास र विस्तारका लागि उपभोक्ताहरुमा विश्वास र चेतना फैलाउनु पर्ने वताउनु भयो । “इ कमर्सको विस्तारका लागि मुख्य कुरा चेतना फैलाउनु पर्छ ।” उहाँले भन्नुभयो ।

कार्यक्रमको सहजकर्ता हेमपाल श्रेष्ठले आइसिटी टेक टक कार्यक्रमले प्रविधि क्षेत्रका समस्या पहिचान गरी समाधान पहिल्याउन मद्दत पुग्ने धारणा राख्नु भयो । त्यस्तै कार्यक्रमको समापन गर्दै नेपाल बैंकका आइटी चिफ सुरेश कुमार कर्णले उपभोक्ताहरुको संख्यात्मक र व्यवसायीहरुको गुणात्मकतामा ध्यान दिन सके इ–कमर्स बिजनेश सफलता उन्मुख हुने धारणा राख्नु भयो । आर एण्ड डी कमिटीको सहजकर्तामा संचालित कार्यक्रम हरेक अंग्रेजी महिनाको पहिलो आइतवार संचालन हुनेछ ।