नेपालीलाई मन पर्दैन यी भारतीय ८ पक्ष

असोज १८, काठमाडौं – नेपाल र भारतबीच जुन किसिमको सम्बन्ध छ त्यो शायदै विश्वको अन्य भूभागका मुलुकहरुबीच देखिएला।एकअर्कासंग १७ सय किलोमिटर खुला सीमा रहेका यी दुई मुलुकबीच गहिरो ऐतिहासिक, सांस्कृतिक, धार्मिक र राजनीतिक सम्बन्ध मात्रै होइन सीमावारपार वैवाहिक तथा पारिवारिक सम्बन्ध पनि प्रचुर मात्रामा छ।

तर त्यो सम्बन्ध सधै यस्तै निकट रहेको इतिहासले देखाउंदैन। पटकपटक यी दुई मुलुकबीचको सम्बन्धमा तनाव उत्पन्न भएका छन् जसबाट पुन: निकटता र आपसी विश्वासको सम्बन्धमा फर्कन निकै मिहिनेत गर्नुपरेको दृष्टान्त छन्। पछिल्लोपटक नेपालमा संविधान घोषणा र त्यसप्रति भारतले जनाएको असन्तुष्टिसंगै दुई मुलुकुबीच त्यस्तै तनाव सिर्जना भएको देखिन्छ।

भारतले संविधानप्रति तराई केन्द्रित असन्तुष्ट पक्षको खुलेरै समर्थन गरेको छ। त्यसबाट खुशी नदेखिएका सरकार र प्रमुख दलले पछिल्लो पटक सीमा नाकाहरुमा देखिएको अवरोधलाई छिमेकीको अघोषित नाकाबन्दीका रुपमा अर्थ्याउंदै आएका छन्।

सानो अर्थतन्त्र भएको भूपरिवेष्ठित नेपाल आफ्नो आपूर्तिका रुपमा लगभग पूर्ण रुपमै भारतमा निर्भर छ। नुनदेखि लिएर कारसम्म, इन्धनदेखि लिएर अस्पतालमा चाहिने आपतकालीन सामाग्रीसम्म नेपाल भारतमै निर्भर छ।

Modiनेपालमा विभिन्न कालखण्डमा नेपालको लोकतान्त्रिक परिवर्तनमा भारत जति महत्वपूर्ण सहयोगी मानिन्छ, त्यतिनै सरकार परिवर्तन र व्यक्ति विशेषको सत्तारोहण र सत्ताबहिर्गमनमा हस्तक्षेप गरेको भन्दै आलोचित पनि छ। निकै गहिरो सम्बन्ध भइकन पनि भारतका के-के कुरा अधिकांश नेपालीलाई मन पर्दैन त ? केही बुंदा हेरौं।

१.‘ठूल्दाइ’ प्रवृत्ति

अधिकांश नेपालीमा भारतबारे यो धारणा निकै व्यापक पाइन्छ। आफ्नो स्वार्थ पूरा गर्नका लागि भारतले आफ्नो कूटनीतिक ताकत प्रयोग गर्ने गरेको धेरै नेपाली ठान्छन्। पछिल्लो ‘अघोषित नाकाबन्दी’ प्रकरणलाई धेरैले यसको एउटा उदाहरण मान्छन्।

२.‘असमान’ सन्धि

नेपाली पक्षले असमान ठानेका सन्धि तथा सम्झौताहरुको लामो सूची छ। सूचीमा बहुचर्चित सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि देखि लिएर गण्डक, कोशी र महाकाली सन्धि लगायत छन्। जलस्रोतसम्बन्धी ती सन्धिसम्झौतामा त नेपालले आफ्नो हिस्साको पानी नपाएको प्रशस्तै टिप्पणी नेपालतिर हुने गर्छ। यस्ता सम्झौताहरु गर्दा भारतीय स्वार्थसामु झुकेको भन्दै नेपाली राजनीतिज्ञप्रति पनि आक्रोश पोखिने गरेका छन्।

३. सार्वभौमसत्ताप्रति ‘सम्मान छैन’

भारतले महत्वपूर्ण मुद्दाहरुमा नेपालले आफूसंग सधैं छलफल गरोस् भन्ने चाहेको धेरैले ठान्ने गर्छन्। घरेलु विषयमा पनि त्यस्तो भारतीय चाहना रहेको कतिको बुझाइ छ। झण्डै ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानप्रति भारतले असन्तुष्टि जनाएको विषयप्रति धेरै नेपाली खुशी देखिदैंनन्।

४.सीमामा दुव्यर्वहार

भारतमा काम गरेर फर्कने क्रममा धेरै नेपाली कामदारहरुले प्रवेश विन्दुहरुमा भारतीय सीमा सुरक्षा बल एसएसबीको दुव्यर्वहार खेप्नुपरेको प्रशस्तै गुनासो आउने गर्छन्। गत वर्ष नेपाल भ्रमणमा आउंदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस्ता गुनासा सम्बोधन गर्नेतर्फ काम गर्ने बताएपनि समस्या ज्यूंका त्यूं देखिन्छ।

५.सीमा ‘अतिक्रमण’

नेपाली सीमा क्षेत्रमा भारतीय ‘अतिक्रमण’को विषय पटकपटक तनावको कारण बन्ने गरेको छ। केही सीमावर्ती क्षेत्रमा मात्रै अतिक्रमणसम्बन्धी विवाद रहेपनि त्यो दुईपक्षीय सम्बन्धमा समस्या सिर्जना गर्न पर्याप्त देखिन्छ। रणनीतिक रुपमा महत्वपूर्ण कालापानी र लिपुलेकको विवाद चर्को छ। ती भूभाग नेपालको भएको नेपाली पक्षको भनाइ रहंदै आएको छ।

६.‘असंवेदनशील’ भारतीय सञ्चारमाध्यम

भारतीय सञ्चारमाध्यमहरु खासगरी टेलिभिजनहरुलाई सनसनी र अतिराष्ट्रवाद फैलाउने माध्यमका रुपमा नेपालमा धेरैले चित्रित गर्छन्। भारतीय सञ्चारमाध्यमले ‘छिमेकी मुलुकहरुसंग सम्बन्धित तथ्यहरु सही ढंगले प्रस्तुत गर्दैनन्’ र ‘उनीहरुको चासो वास्ता गर्दैनन्’ भन्ने धेरैको धारणा पाइन्छ। त्यसमाथि साना छिमेकी देशहरुको भावनाप्रति असंवेदनशील रहेको उनीहरु ठान्छन्। उदाहरणका लागि, वैशाखको भूकम्पपछि सबैभन्दा पहिले सहयोग गर्न पुग्नेमा भारत नै थियो जसका लागि धेरै नेपाली भारत सरकारप्रति अनुगृहित देखिन्छन्। तर उक्त कामलाई बढाइचढाइ गरेको तथा भूकम्पसम्बन्धी रिपोर्टहरु गर्दा संवेदनशीलता नदेखाएको टिप्पणी भारतीय सञ्चारमाध्यमबारे भए। ट्वीटरमा त्यो असन्तुष्टि #GohomeIndianmedia ह्यासट्यागमा निकै चर्चाको विषय अर्थात ट्रेडिंग भयो।

७. प्रेम र घृणाको सम्बन्ध

नेपालीहरु भारतका धेरै कुरा रुचाउंछन्। भारतीय चलचित्र, संगीतदेखि लिएर खाना नेपालीहरु रुचाउंछन्। भारतमा नेपालीहरुले पवित्र मान्ने गरेका धेरै तीर्थस्थल पनि छन्। थुप्रै नेपाली विद्यार्थी भारतमा पढ्न जान्छन्। तर नेपालकोबारेमा कसैले नकरात्मक टिप्पणी गरे वा नेपाललाई होच्याए त्यसले धैरै नेपालीको भावनामा चोट पुर्याउंछ। जस्तै १५ वर्षअगाडि भारतीय अभिनेता ऋतिक रोशनले ‘नेपाल मन पर्दैन’ भनेर टिप्पणी गरेको हल्ला फैलिएपछि त्यसले नेपालमा हिंसाको रुप लियो। तर पछि रोशनले आफूले त्यस्तो कहिल्यै नबताएको जनाए।

८. नेपालमा चिनियां सक्रियताबारे भारतको ‘आशंका’

नेपालमा चीनको ‘बढ्दो प्रभाव’बारे भारतको आशंका आवश्यकताभन्दा बढी भएको धेरै ठान्छन्। थुप्रै समानताहरु भएको भारतसंग जस्तो नेपालको अन्य मुलुकसंग घनिष्ठ सम्बन्ध अन्यसंग हुनै नसक्ने धेरै मान्छन्। तर जटील भूराजनीतिक अवस्थामा रहेको नेपालजस्तो सानो मुलुकले कूटनीतिक सन्तुलन मिलाउन भोग्नुपर्ने अप्ठ्यारा दिल्लीले बुझ्ने नगरेको भन्दै धेरै जना असन्तुष्ट देखिन्छन्।