तराईका जिल्लामा जितिया पर्व धार्मिक विधिपूर्वक मनाईँदै

असोज १७, काठमाण्डौ—तराईका जिल्लामा जितिया पर्व धार्मिक विधिपूर्वक मनाईँदै छ । मैथिल समुदाय र थारु जातिका माताहरूले आ–आफ्ना सन्तानको दीर्घायु एवं मङ्गलमय कामनाका लागि मनाइने यो पर्व आज राति ८ बजेदेखि विधिवत रुपमा उपवासमा बसेपछि पर्वको शुभारम्भ हुन्छ ।
आश्विन कृष्ण अष्टमी तिथिमा यो पर्वको उपवास सुरु हुने र नवमीमा उपवास सम्पन्न हुन्छ । आइतबार राति ८ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्मको सो तिथिको अवधिमा उपवासमै बस्नुपर्ने हुन्छ । यस अवधिभन्दा पहिले नै व्रतालु महिलालाई भोजन गरिसक्नुपर्ने हुन्छ ।
त्यसपछि, पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथि अर्थात मङ्गलबार बिहान ८ बजेपछि मात्र भोजन गर्न पाउँछन् । हिन्दू धर्मावलम्बीहरूले उपवास गर्ने पर्वहरूमा सबैभन्दा बढी समयसम्म उपवासमा बस्नुपर्ने र सो अवधिमा थुक पनि निल्न नपाउने कडा बन्देजका कारण यो पर्वलाई सबैभन्दा कठोर पर्वका रुपमा चित्रण गरिएको छ । तिथिको समयको हेरफेर भएका कारण ओटघनको साइत नपरेकाले व्रतालुहरूलाई लगातार ३६ घन्टासम्म निराहार बस्नुपर्ने पण्डित रासमोहन झाले बताउनुभयो ।
गएको वर्ष पनि ओटघनको साइत परेको थिएन । यस पर्वमा ओटघनको निकै महत्व हुन्छ । पर्वको तिथिको समयअगावै अर्थात सप्तमी तिथिको उत्तराद्र्धमा खासगरी मध्यरात्रिको समयमा व्रतालु माताका साथै परिवारका सम्पूर्ण सदस्यहरू दही–च्युरा, मिठाई, फलफूललगायतका भोजन सामग्री खाने गरिन्छ । यसलाई ‘ओटघन’ भनिन्छ । वर्षमा एक दिन मध्यरात्रिको समयमा मिष्ठान भोजन गर्न पाइने भएकाले बालबालिकालाई ओटघनप्रति बढी चासो रहन्छ ।