मुस्कुराउँदै हिमानीले वितरण गरिन् लत्ताकपडा

असोज १५, काठमाडौँ – हिमानी कोषले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज करिब रु १५ लाख बराबरको लत्ताकपडालगायतका सामग्री धादिङको भद्रकाली ज्येष्ठ नागरिक आश्रमलाई वितरण गरेको छ ।

कोषकी अध्यक्ष हिमानी शाहले नवनिर्मित सो आश्रमको बिहिबार उद्घाटन क्रममा समाजमा रहेका ज्येष्ठ नागरिकलाई सम्मान र आदर गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले ज्येष्ठ नागरिकलाई माया र स्नेहको खाँचो रहेको औँल्याउँदै अग्रजलाई सम्मान गरी उनीहरूको अनुभवलाई देश विकासमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
विसं २०६१ मा मुठीदानबाट सुरु भएको सो भवन हाल रु एक करोड ६० लाखको लागतमा निर्माण गरिएको आश्रमका कार्यकारी निर्देशक तीर्थ सिलवालले जानकारी दिनुभयो ।

पाँचतला रहेको आश्रमको भवनमा १८ कोठा रहेका छन् भने २०० वृद्ध राख्ने क्षमता रहेको सिलवालले बताउनुभयो ।

वितरण गरिएका सामग्रीमा कम्बल, सिरक, डसना, खाट, कार्पेट, पर्दालगायतका सामग्री रहेका छन् ।