नाकाबन्दी लगाउने भारतीय सरकार असफल हुन्छः गृहमन्त्री

असोज १२, काठमाडोँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकार असफल हुने दाबी गरेका छन् । व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा उपप्रधानमन्त्री गौतमले २०४५ सालमा नेपालमा नाकाबन्दी लगाएपछि त्यसबेलाको भारतीय काँग्रेस नेतृत्वको सरकार असफल भएको प्रसङ्ग उल्लेख गरे । यसपटक पनि नेपालमा अघोषित नाकाबन्दी गर्ने भारतीय सरकारले त्यही असफलता भोग्नुपर्ने जिकिर गर्दै उनले भने – “नाकाबन्दी संसारभरका कानुनको उल्लङ्घन र भूपरिवेष्टित देशले पाएको अधिकार उल्लङ्घन गरेर भएको छ । भारतको संविधानको विरुद्धमा गएर नाकाबन्दी गरिएको छ । त्यसैले भारतका जनताले निर्णय गरेर नेपाली जनतालाई न्याय दिनेछन् ।” सरकारले नाकाबन्दी खुलाउन कूटनीतिक प्रयास गरिरहेको जानकारी गराउँदै उपप्रधानमन्त्री गौतमले भारतले यसो गर्ला भन्ने आफूहरुले नसोचेको बताए । आन्दोलनरत दलसँग वार्ता गर्न सरकार सदैव तयार रहेको र त्यसका लागि अथक प्रयत्न गरिरहेको जानकारी गराउँदै उहाँले मधेसमा कुनै माग नभई र विषय नै नभई आन्दोलन गरिएको आरोप लगाए । उनले ११ निर्वाचन क्षेत्र जितेकाले २२९ निर्वाचन क्षेत्र जितेकालाई हल्लाउने रु भनी प्रश्न पनि गरे । नाकाबन्दीमा आपूर्ति सहज बनाउन सरकारले चीनतर्फको बाटो सञ्चालन गर्न प्रयास गरिरहेको जानकारी गराउँदै उनले तातोपानी र रसुवाका नाका छिट्टै सञ्चालनमा आउने जानकारी गराए ।