आन्दोलनरत मधेसी र थारु समुदायसँग आज पनि समितिले वार्ता गर्ने

असोज १२, काठमाडोँ – आन्दोलनरत मधेसी र थारु समुदायसँग आज पनि समितिले वार्ता गर्ने भएको छ । प्रमुख ३ दल कांगे्रसबाट वनमन्त्री समेत रहनु भएका महेश आचार्य, एमालेका प्रमुख सचेत अग्नि खरेल र एकीकृत माओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तीन जना रहेको वार्ता समिति गठन गरिएको छ ।

हिजोदेखि छलफल थालेको वार्ता समितिले आज पनि निरन्तरता दिने समितिले जनाएको छ । तर वार्ता समिति सदस्य खरेलका अनुसार वार्ता कति बजे कहाँ भन्ने चाहिं टुंगो लागिसकेको छैन ।

आन्दोलनरत मधेसी मोर्चा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागितालगायत माग राख्दै आन्दोलनरत छन् । उनीहरुले वार्तालाई टुंगोमा पुर्याउन सेना फिर्ता तथा आन्दोलनका क्रममा पक्राउ गरेका कार्यकर्ता रिहालगायत माग हिजोको छलफलमा अघि सारेका छन् ।