‘मधेसी मोर्चा र भारतबीच तालमेल’

असोज ११, काठमाडोँ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट संविधान घोषणा भएपछि मधेसी मोर्चाको आन्दोलन र भारत सरकारको तालमेलमा नाकाबन्दी लगाइएको बताएका छन्। दाहालले पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका नेपाली नेताहरूलाई भारतीय प्रधानमन्त्रीका विशेष दूत बनेर आएका विदेशसचिव एस जयशंकरले अपमान गरेको पनि खुलासा गरे ।

एमाओवादी केन्द्रीय समितिको आइतबारको बैठकमा दाहालले करिब एक घन्टा लामो अभिव्यक्ति नेता डा. बाबुराम भट्टराईको राजीनामा, भारतले गरेको नाकाबन्दी र संविधान निर्माणप्रक्रियामा आफूले निर्वाह गरेको भूमिकामा खर्चिएका थिए।

‘हामी पूर्वप्रधानमन्त्री भइसकेका नेताहरूलाई अपमान गरियो। अब हामी तिमीहरूका दास बन्न सक्दैनौं। हाम्रो संविधान हामी आफैं बनाउँछौं’, भारतीय अधिकारीलाई आफूले दिएको जबाफ उद्धृत गर्दै दाहालले केन्द्रीय समितिको पूर्ण बैठकमा भने।

जयशंकरले आफूहरूले आश्रय नदिएको भए माओवादी अहिलेको हैसियतमा नआउने र अहिले आफूहरूले भनेको नमान्ने भनेर थर्काउन खोजेको खुलासा पनि दाहालले गरेका थिए। ‘मधेसी मोर्चाका नेताहरू र भारत सरकारबीच असाधारण र विचित्रको तालमेल देखिन्छ। जुलुस र ढुंगामुढा उतै (भारत) बाट हुने गर्छ। दुनियाँमा कतै पनि यस्तो घटना भएको पाइँदैन’, दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘बाबुरामजीले आकस्मिक रूपमा पार्टी छोड्नु पार्टीका लागि असाधारण घटना हुन गएको छ। यी हाम्रा लागि चुनौतीका परिघटना हुन्।’

मधेसी नेताहरूले उठाएका सीमांकन र निर्वाचन क्षेत्रको मुद्दालाई समेट्न सकिने भए पनि उनीहरूको नियत नै सफा नरहेको दाहालले बताए। ‘राज्यले जति लचकता अपनाए पनि केही मधेसी नेताहरूको वार्तामा आउने नियत नै देखिँदैन’, दाहालले भने, ‘बाबुरामजीले सात दिन प्रक्रिया स्थगित गरौं भन्दा मैले भने सात दिन होइन, १० दिन प्रक्रिया स्थगित गर्न सकिन्छ तर सबै सभासद् संविधानसभा परिसरभित्रै रहनुपर्छ।’