सेना आजबाट व्यारेक फर्किने

असोज ११,कैलाली – शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना आज व्यारेक फर्किने भएको छ ।

कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको लिखित अनुरोधमा आजदेखि नेपाली सेना व्यारेक फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

टीकापुरमा गएको भदौ ७ गते आठ प्रहरी र एक बालकको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले टीकापुर नगरपालिका, भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्नुका साथै दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सेना खटाएको थियो ।

टीकापुरमा जारी निषेधाज्ञा आज असोज ११ गते बिहान ५ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि हटाइएको भएपनि निषेधित क्षेत्र यथावत् रहेको र सदरमुकाम धनगढीमा निषेधित क्षेत्र यथावत् राखिएको पनि विज्ञप्तिमा जनाइएको छ ।