आजदेखि कोटा प्रणालीमा इन्धन वितरण सुरु

असोज ११, काठमाडोँ – भारतले अघोषित रुपमा नाकाबन्धी गरेपछि त्यसको प्रभाव मुलुकभर परेको छ । आयल निगमले आफ्नो संचीत तेलको मात्रा कम भएको भन्दै सर्वसाधारणलाई सार्वजनिक सवारी चढ्न आग्रह गरेको छ ।

यसैबिच निजी सवारीसाधनतर्फ मोटरसाइकललाई प्रतिसाता तीन लिटर र चारपांग्रे सवारीसाधनलाई प्रतिसाता १० लिटर, सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनिबसका लागि २० लिटर र ठूला बसका लागि ३० लिटर इन्धन कोटा तोकिएको छ । सार्वजनिक सवारीसाधनले जोर–बिजोर प्रणालीअनुसार चलेको दिन तेल भर्न पाउनेछन् ।

नेपाल आयल निगमले इन्धन वितरण गरेपछि सम्बन्धित सम्बन्धित सवारीसाधनको ब्लुबुकमा विवरण राख्ने व्यवस्था गरेको छ । कोटा निर्धारण मौज्दात इन्धनले १५ दिनसम्म धान्नसक्ने अनुमान निगमको छ ।