नेपाली सेना भोलिबाट ब्यारेकमा फिर्ता हुने

राजेन्द्र रावल 

असोज १० ,कैलाली – गत भदौं सात गतेदेखि कैलालीको टीकापुर क्षेत्रमा खटिएको नेपाली सेना भोलिबाट ब्यारेकमा फिर्ता हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रशासनले आज विज्ञप्ती प्रकाशित गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (ख) को उपदफा १ (झ) बमोजिम शान्ति सुरक्षा कायम गर्नका लागि नेपाली सेना खटाइएकोमा हाललाई ब्यारेक फिर्ता गर्ने जनाएको छ ।

टीकापुरमा हिंसात्मक घटना भए लगत्तै त्यस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेर शान्ति सुरक्षा कायम गर्नका लागि नेपाली सेना परिचालन गरिएको थियो । दङ्गाग्रस्त क्षेत्र पाँच दिन अगाडि नै हटे पनि तत्कालै सेनालाई ब्यारेक फर्काइएको थिएन ।

यसैबीच, टीकापुर क्षेत्रमा भोली बिहान पाँच देखि बेलुका ५ बजेसम्मका लागि कफ्र्यु फुकुवा गरिएको छ । बेलुका पाँच बजेदेखि नै १२ घण्टा कफ्र्यु लाग्ने प्रशासनले जनाएको छ । धनगढीमा अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस गर्न नपाउने गरी निषेधाज्ञा यथावत रहने जनाइएको छ ।