असन्तुष्ट पक्ष संग आज प्रमुख दलहरु निर्णयाक छलफलमा

असोज ७ , काठमाडौँ – प्रमुख दलहरुले मधेसी दलहरुले उठाएका मागमा विषयमा थप छलफल गर्ने भएका छन् । मधेसी मोर्चाले राखेको माग, उनीहरुको आन्दोलनलाई ध्यानमा राखेर आज छलफल हुनेछ । पहिलो आन्तरिक छलफल गर्ने र त्यसको निष्कर्षका आधारमा फोरक लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल हुनेछ ।

गच्छदारसँग कुरा मिलेपछि अन्य दलसँग थप छलफल गर्ने नेताहरुले बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलहरुको बैठक बस्ने तय भएको छ । तर समय भने यकिन भइ नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उता संयुक्त मधेशी लोकतान्त्रीक मोर्चाले भने ४० दिनदेखि जारी बन्दलाई यथावत राख्ने निर्णय गरेको छ । आन्दोलनलाई अझ सशक्त पार्न आन्दोलनरत अन्य मोर्चाहरुसँग सहकार्य गर्ने निर्णय पनि गरेको हो । मोर्चाले आन्दोलनलाई शशक्त बनाउन सदभावनाका महासचिव मनिष सुमन, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, तमलोपाका गोबिन्द चौधरी र तराई मधेश सदभावना पार्टीका रामनरेश राय सम्मीलित कार्यदल पनि गठन गरेको छ ।