राजधानीमा पेट्रोलियम पदार्थको कृतिम अभाव सुरू

असोज ५, काठमाडौँ – भारतले सीमामा नेपाली तेल ट्यांकर रोकिदिएलगत्तै नेपालमा पेट्रोलियम पदार्थको कालोबजारी सुरु भएको छ । काठमाडौं उपत्यका भित्रका केही पेट्रोल पम्पहरुले खबर सार्वजनिक भएको केही समयमै पेट्रोल/डिजेलको बिक्री बन्द गरेका छन् ।

पेट्रोल/डिजेलको अभाव सुरु हुने आशंकाले उपभोक्ताहरुको लाईन पेट्रोल पम्पहरुमा लामो देखिएको छ ।

तर नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेकाले अभावको अवस्था नहरेको स्पष्ट गरेको छ । निगमका प्रवक्ता दिपक बरालले मागअनुसार तेल दिइएकाले अभाव नहुने दावी गरे ।

पेट्रोलियम डिलर्स एशोसियसनले भने तीन दिनको सार्वजनिक विदाका बीचमा एक दिन मात्र तेल बजारमा आएकोले समान्य अभाव देखिएको जनाएको छ ।

शुक्रबारपछि आइतबारमात्र निगमले तेल बजारमा पठाएकाले मंगलबार केही अभाव हुनु सामान्य भएको एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । आज निगमले दिने तेलको परिमाणले मात्र बास्तविक अभाव रहे/नरहेको स्पष्ट हुने उनको भनाइ छ ।