नेपाल एएफसी यु–१६ फुटबलको फाइनल चरणमा प्रवेश

असोज ४, काठमाडौँ – कीर्गिस्तानमा सम्पन्न एएफसी अण्डर सिक्सटिन च्याम्पियनसिप फुटबल छनोट समुहमा दोस्रो भए पनि नेपाल अर्को वर्ष भारतमा हुने प्रतियोगिताको लागि छानिएको छ ।

छनोट चरणको अन्तिम खेलमा हिजो ओमानसँग ३-१ ले पराजित भएपछि नेपालको समुह विजेता बन्ने सपना टुटेको थियो ।

तर समुहका तीन खेलबाट ६ अंक बटुल्दै उपविजेता बन्न सफल नेपाल प्रतियोगिताको नियम अनुसार उत्कृष्ट ४ उपविजेतामा पर्दै फाईनल चरणको लागि छानिएको हो । एसियाका ४५ राष्ट्रलाई ११ समुहमा विभाजन गरि छनोट प्रतियोगिता खेलाइएको थियो ।

जसबाट समुह विजेता बन्दै उज्वेकिस्तान, ओमान, ईराक, साउदी अरबिया, ईरान, कुवेत, मलेसिया, उत्तर कोरिया, दक्षिण कोरिया, अष्ट्रेलिया र जापन फाईनल चरणको लागि छानिएका हुन् ।

यसैगरी उत्कृष्ट उपविजेताको रुपमा नेपालसहित युएई, भियतनाम र थाईल्याण्ड पनि अर्को वर्ष भारतमा हुने एएफसी युथ सिक्सटिन च्याम्पियनसिप फुटबलको लागि छनोट भएका हुन् ।