आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

असोज ४ , काठमाडौं – अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि मनाइँदैछ ।‘शान्तिका लागि सहकार्य  सबैका लागि सम्मान’ भन्ने नाराका साथ शान्ति दिवस मनाउन लागेको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
संविधान जारी भएसँगै नेपालमा शान्ति प्रक्रिया निस्कर्षमा पुगेकाले आज थप उल्लासका साथ यो दिवस मनाइँदैछ । राष्ट्रसंघको ५६ औँ वार्षिक साधारणसभाले प्रस्ताव पारित गरी विश्वव्यापी रुपमा हिंसा र युद्धको समाप्तिको दिनको रुपमा आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेपछि नेपालले २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो ।
दिवसका अवसरमा शुभकामना दिनुहुँदै  प्रधानमन्त्री सुशील कोइरालाले संविधानले लोकतान्त्रिक शासन पद्धति, दिगो शान्ति, समृद्धिको ढोका खोलेको बताउनु भएको छ ।  उहाँले एक दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गरी शान्ति सम्झौताले निर्देशन गरे बमोजिम संविधानसभाबाट संविधान जारी गर्न सकेकोमा खुशी व्यक्त गर्नुभएको छ । सबैलाई शुभकामना पनि प्रधानमन्त्रीले दिनुभएको छ ।