सञ्जय गरे साङ्गीतिक सेवारो

घनश्याम श्रेष्ठ

काठमाडौं – नेपाली साङ्गीतिकक्षेत्रमा उदीयमान गायक सञ्जय तुम्रोकको पछिल्लो एल्बम सेवारो सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक समारोहका बीच उक्त एल्बम विमोचन गरिएको हो । यसअघि नभुलौँ है प्राणभन्दा प्यारा राजा र रानीलाई आधुनिक गीति एल्बमबाट साङ्गीतिकक्षेत्रमा डेब्यु गरेका सञ्जयको उक्त एल्बम प्राज्ञ एवम् सङ्गीतकार अशोक लोहरुङ राई, चर्चित गायक राजेश पायल राई, सङ्गीतकार राजु सिंह र पत्रकार सुवास ढकालले संयु्क्तरूपमा सार्वजनिक गरेका थिए । विभिन्न नेपाली चलचित्रहरूमा समेत आफ्नो आवाज दिइसकेका युवा गायक सञ्जयको आवाजमा बेग्लै मिठास रहेको बताउँदै कार्यक्रमका अतिथिहरूले उनको प्रशंसा गरेका थिए । उनको साङ्गीतिक भविश्य सुगम र सफल होस् भन्दै शुभकामना पनि दिएका थिए ।
आज सार्वजनिक एकल आधुनिक गीतिसङ्ग्रह सेवारो मा मायप्रीतिसँगसँगै पूर्वेली चर्चित भाकाहरूसमेत समेटिएका छन् । डिपी खनाल, कमल यक्चैमगर, लोकेन्द्र लेखक, मिन सागर लामा र फणीन्द्र राईको शब्दमा रहेको सेवारो मा सञ्चयस्वयम्ले पनि सङ्गीत दिएका छन् । धनु ज्ञाङमी, रूपक चौधरी र ओमप्रकाश राईको सङ्गीत रहेको यस एल्बममा कुल पाँच गीत रहेका छन् ।
गरामनी ९ झापा सैनिक बजारमा डम्बरबहादुर लिम्बू र बुद्धिमाया लिम्बूको कोखबाट वि.सं. २०३८ साल, चैत्र २१ गते जन्मिएका सञ्जयले धरानमा आयोजित प्रथम पूर्वाञ्चल आइडल – २०६३ र रेडियो नेपालद्वारा वार्षिकरूपमा आयोजना गर्ने आधुनिक गीत प्रतियोगिता २०६३ मा प्रथम स्थान हासिल गरेका थिए ।
नेपाली साङ्गीतिकक्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सञ्जय देशविदेशमा आयोजना हुने कार्यक्रमहरूमा समेत प्रमुख आकर्षकका रूपमा व्यस्त हुने गरेका छन् । पछिल्लो समय म्युजिक भिडियोहरूमा ब्यस्त सञ्जयले चाँडै चोक गुरुङको एकल सङ्गीतमा एल्बम ल्याउन लागेको जानकारी दिएका छन् ।