केपी ओलीको बोली,–‘केहीले संविधानसभा छाड्दैमा आत्तिनु पर्दैन’

भदौ  २३ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही शक्तिले संविधानसभा छाड्दैमा कुनै असर नगर्ने जिकिर गरेका छन् । उनले केही शक्ति बाहिरिएर घुर्की लगाउँदैमा संविधानको प्रक्रिया नरोकिने बताए । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बुधबार भएको पत्रकार सम्मेलनमा उनले संविधानसभाबाट तराई बाहिरिएकोनभई कोही कोही बाहिर गएको बताए ।

उनले संविधान निर्माण प्रक्रियाबाट अलग भएका दलहरुलाई संविधानसभामा आउन आग गर्दै तराई कांग्रेस, एमाले र एमाओवादीसँग रहेको बताए । संविधानसभा छाड्ने दलहरुका कारण संविधान बन्दैन कि भनेर भ्रममा नपर्न उनले सबैलाई आग्रह गरे । उनले संविधान सबैको साझा दस्तावेज भएकाले आफूले भनेको जस्तै हुनुपर्छ भन्ने हठ त्याग्न असन्तुष्ट पक्षलाई आग्रह गरे । ओलीले भने, ‘देश र जनताको हितमा हुने सबै कुरा मान्न तयार छौं, मानिरहेका छौं ।

कमीकमजोरी छन् भने संशोधनको बाटोबाट पनि सच्याउन सक्छौं । त्यसबाट पनि मिलेन भने संघीय आयोगबाट त्यसलाई मिलाउन सक्छौं ।’ सहमतिका आधारमा संविधान बनाउनुपर्ने भन्दै उनले संविधान निर्माण अहिलेको प्रमुख आवश्यकता भएकाले सबै पक्षलाई सम्वादमा आउन भने ।