स्कूल पुनर्निर्माणको सहयोगार्थ म्याराथुन हुने

भदौ २३, काठमाडौँ – भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणको सहयोगको लागि तेस्रो डीमा म्याराथुन २०१५ हुने भएको छ । गत बैशाख १२ गतेको विनासकारी भूकम्पले भत्किएको गोर्खाको श्री पपुलर आदर्श उच्च माध्यामिक विद्यालयको भवन पुनर्निर्माणको लागि यो प्रतियोगिता हुन लागेको हो ।
बिभिन्न कलेजहरुका विद्यार्थीहरु सहभागीहुने उक्त म्याराथुन दौड यहि भदौ २६ गते बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने प्याक नेपालका अध्यक्ष प्रितम खड्काले जानकारी दिए । समाजसेवा गर्दै आएको मानवताको लागि शान्ति र संस्कृति(प्याक) नेपालले आयोजना गरेको प्रतियोगितामा सहभागिबाट उठेको रकमले स्कूलको भवन निर्माण गर्ने जनाइएको छ ।
म्याराथुनमा सहभागीताको लागि एक जनाले पाँच सयको फारम भर्नुपर्ने हुन्छ । महिला तथा पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुने छ । पाँच र दश किलोमिटरमा हुने उक्त दौडमा पाच सय जनाको सहभागीता हुने अपेक्षा गरिएको छ ।

यो म्याराथुन ५ किलोमिटरको लागि कमलादीदेखि सुरु भई कमलपोखरी, जयनेपाल, नागपोखरी, उत्तरढोका,लैनचौर, केशरमहल, जमल, घन्टाघर, प्रदशनीमार्ग, पुतलीसडक हुदै कमलादी पुगेर अन्त्य हुनेछ भने १० किलोमिटरको लागि कमलादी देखि सुरु भई कमलपोखरी, जयनेपाल, नागपोखरी, उत्तरढोका, लैनचौर, केशरमहल, जमल, घन्टाघर, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, हनुमानथान, अनामनगर, न्यूप्लाजा, पुतलीसडक हुदै कमलादी पुगेर समाप्त हुने प्याक नेपालले जनाएको छ ।
भूकम्पको बेला राहत र उद्धारमा लागिपरेको प्याक नेपालले स्कूल पुनर्निर्माणको लागि अहिले सम्म तिन लाख जुटाई सकेको छ भने, यो प्रतियोगिता बाट उठेको रकम जोडेर छिटै काम सुरू गर्ने जनाएको छ । यो प्रतियोगिता डीमा एकेडेमीले विगत दुई बर्षदेखि गर्दै आएको थियो ।