जनकपुरमा फेरी तनाव, तीन प्रहरी र २४ प्रदर्शनकारी घाइते

भदौ २२, जनकपुर – जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

प्रदर्शनकारीले भानुचोकको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप हुँदा तीन जना प्रहरी र २४ जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परी तराई मधेस लोकतान्त्रिक पार्टीका धनुषा अध्यक्ष प्रमेश्वर साह, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंह पनि घाइते भएका छन् ।

प्रदर्शनकारीलाई नियन्त्रित गर्न प्रहरीले १२ सेल अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि सरकारी कार्यालय भएको क्षेत्रमा निषेधाज्ञा जारी  गरेको थियो ।