संविधान पारित जारी गर्ने प्रक्रिया आजदेखि सुरु

भदौ २२, काठमाडौँ – संविधानको परिमार्जित विधेयकमाथि आजदेखि संविधानसभामा दफाबार छलफलको प्रक्रिया सुरु हुने भएको छ । संविधानसभा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभा विधेयकमाथि दफाबार छलफल गरि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि संविधानसभा अध्यक्षले संविधानसभा बैठकमा संशोधनकर्तालाई संशोधन प्रस्तावसहित संविधानको परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिन समय दिनुहुनेछ ।

५ देखि ७ मिनेटको समयमा संसोधनकर्तालाई भनाई राख्ने समय दिइनेछ । एकीकृत संशोधन प्रस्ताव आज बिहान ११ बजे बस्ने संविधानसभा बैठकमा पेस गरिनेछ । ५६ वटा संशोधन प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता भएका छन् । तीमध्ये फिर्ता भएका ४ बाहेक अन्य संशोधनकर्ताले पालैपालो आफ्नो संशोधन प्रस्ताव संविधानसभाको पूर्ण बैठकमा पेस गर्नेछन् । संशोधनकर्ता सबैले प्रस्ताव पेस गरिसकेपछि संसदीय दलका नेताहरूलाई संविधानको विधेयकमा धारणा राख्न समय दिइनेछ ।

छलफल सकिएपछि संशोधन प्रस्तावहरू क्रमैसँग निर्णयार्थ पेस गरिनेछ । संशोधनकर्ताले आफ्नो प्रस्तावमा दुई तिहाइ मत प्राप्त गर्न सके संविधानको विधेयकमा रहेको व्यवस्थालाई प्रतिस्थापित गर्नेछ । नभए प्रस्ताव अस्वीकृत हुनेछ । प्रत्येक संशोधन प्रस्ताव र संविधानका धारा ध्वनि मतले पनि पारित गर्न सक्नेछ । भदौ मसान्त वा असोजको ४ गतेभित्र संविधान जारी गर्ने गरीको कार्यतालिका तय भएको छ ।