थारू सभासदलाई पार्टी छाड्न प्रचण्डको चुनौती

भदौ २१, काठमाडौँ – संविधान निर्माणमा लागिपरेका एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराइएको संविधान विधेयकमाथिको संयुक्त संशोधन प्रस्तावमा असहमति राख्ने आफ्ना सभासद्हरुलाई चित्त नबुझे पार्टी छोड्न चुनौती दिएका छन् ।

कांग्रेस, एमाले र एमाओवादीको तर्फबाट शनिबार दर्ता गराइएको संशोधन प्रस्तावले आफ्ना मुद्दा सम्बोधन नगरेको गुनासो पोख्न आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाट पुगेका एमाओवादीका सातजना थारु सभासद्लाई उनले भने,‘संविधान कुनै हालतमा जारी गर्न म प्रतिबद्द छु, तपाईंहरुलाई चित्त बुझ्दैन भने पार्टी छाडेर जानुस् ।’

एक सभासद्का अनुसार पार्टी भित्र र बाहिरका राजनीतिक शक्ति तथा अन्तर्राष्ट्रिय समुदाय खासगरी भारतको तीव्र दबाबमा रहेका प्रचण्डले संविधानसभाबाट संविधान जारी नगरे जनयुद्दको औचित्य पुष्टि नहुने , राजतन्त्र फर्कने खतरा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वजस्ता विषय पनि गुम्ने खतरा गुम्ने भएका कारण प्राप्त उपलब्धि संस्थागत गरेर थप प्राप्तिका लागि संघर्षको बाटो खुला रहने बताएका थिए ।