कैलालीको टिकापुरमा आज देखि फेरी २४ घण्टा कर्फ्यु आदेश जारी

भदौ  १९,  काठमाडौँ  – कैलालीको टिकापुरमा आज देखि फेरी २४ घण्टा कर्फ्यु आदेश जारी गरिएको छ । थरुहट आन्दोलन हिंसात्मक बनेपछि कैलालीको धनगढी र टीकापुरमा लगातार कर्फ्यु  लगाइंदै आएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीले शुक्रबार सम्म कर्फ्युको समय घटाएर चार घण्टा पुर्याएसँगै धनगढी र टीकापुरको जनजीवन केही सामान्य बनेको थियो ।

स्थानीय प्रशासनले धनगढीमा मध्याह्न १२ बजेबाट दिउँसो ४ बजेसम्म मात्र कर्फ्यु लगाइएको छ । भने टिकापुरमा भने स्थिती विग्रन सक्ने भन्दै शनिबारबाट फेरी २४ घण्टा नै कर्फ्यु  लगाएको हो । शुक्रबार त्यसैगरी टीकापुरमा बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु फुकुवा गरिएको थियो । कफ्र्यु बाहेकको अन्य समयमा भने यी दुबै ठाउँमा निषेधाज्ञा कायमै छ ।
कैलालीमा बन्द आह्वान गरिएको आज ३३ दिन पुगेको छ भने कर्फ्यु जारी गरिएको १३ दिन भएको छ । त्यस्तै टिकापुरमा निषेधाज्ञा जारी गरिएको १५ दिन पुगेको छ । उता, वीरगन्जमा पनि कर्फ्यु जारी नै छ । वीरगन्जमा शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म कफ्र्यु हटाइएको थियो । स्थानीय प्रशासनले सर्वसाधारणको दैनिकीलाई सहज बनाउन भन्दै तीन घण्टा हटाएको हो ।
मधेसी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि वीरगञ्जमा गत सोमबारबाट कर्फ्यु लगाइएको थियो । उता, सोमबार प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको अन्तिमसंस्कार गरिने भएको छ ।