संघीय लिम्बुवान पार्टी नेपालले आजबाट अनिश्चितकालिन पूर्व बन्द आह्वान

भदौ १८ , सुनसरी – संघीय लिम्बुवान पार्टी नेपालले आजबाट अनिश्चितकालिन पूर्व बन्द आह्वान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले अनिश्चतकालिन पूर्व बन्द आह्वान गरेको हो । बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, ते¥हथुम, धनकुटा, भोजपुर, संखुवासभालगायत जिल्ला प्रभावित भएका छन् ।
यी जिल्लामा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प छन् । बन्दको प्रभाव विद्यालयमा भने परेको छैन ।

संघीय लिम्बुवान पार्टी नेपालले विज्ञप्ति जारी गरी शिक्षण संस्था बन्द नगर्ने जनाएको छ ।
यसैविच चाडपर्व मध्यनजर गर्दै थारुहट संयुक्त संघर्ष समितिले बाँकेमा नगर गाडी सञ्चालन गर्न दिने जनाएको छ । जिल्लामा अनिश्चित बन्द गरेको संयुक्त मधेशी मोर्चासँग आज छलफल गरी गाडी सञ्चालनका सम्बन्धी जानकारी गरिने जनाइएको छ ।
जिल्ला प्रशासनमा बसेको बैठकमा संघर्ष समितिले नगरबस र जिल्लाभित्र चल्ने छोटा दूरीका गाडीमा अवरोध नगर्ने जनाएको हो। प्रमुख जिल्ला अधिकारी, संघर्ष समिति प्रतिनिधि, यातायात व्यवसायी र अधिकारकर्मीको छलफलमा उनीहरुले आजदेखि नगरबस सञ्चालन गर्न दिने प्रतिबद्धता जनाएका हुन्।