भारतमा एक महिनाको अवधिमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य घट्यो,नेपालमा स्थिर

भदौ १५, काठमाडौ – छिमेकी मुलुक भारतमा एक महिनाको अवधिमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाटै पेट्रोलियम पदार्थ ल्याइने गरेको नेपालमा भने सो अवधिमा एक पटकमात्र मूल्य समायोजन गरिएको भए पनि न्यूनमात्रामा मूल्य घटाइएको थियो ।

भारतमा सोमबार मध्यरातदेखि पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ (भारु) कटौती गरिएको छ । त्यस्तै डिजेलमा पचास पैसा प्रतिलिटर मूल्य घटेको छ ।
भारतीय आयल कर्पोरेशनका अनुसार अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्यमा कटौती भइरहेका कारण इन्धनको मूल्य घटाइएको हो ।
नेपालमा भने गत साउन १६ गते इन्धनको मूल्य घटाइएको थियो । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ पचास पैसा मूल्य घटेको थियो ।
तर सोही अवधिमा पनि भारतमा इन्धनको मूल्य घटेको थियो । १५ अगस्टमा भारतीय आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर १.२७ र डिजलमा १.१७ रुपैयाँ (भारतीय रुपैयाँ) मूल्य घटाएको थियो ।