भदौ १४,कपिलबस्तु – कपिलवस्तुबाट संविधानसभा प्रतिनिधित्व गर्ने ३ जना सभासदले भारतीय गृहमन्त्री राजनाथ सिंह संग भेटवार्ता भएको छ । मधेशमा भइरहेको आन्दोलनमा भारतीय सर्मथन र सहयोग आवश्यक भएको भन्दै उनीहरुले गृहमन्त्री सिंह मार्फत भारत सरकारलाई सम्बोधन गरिएको ज्ञापन पत्र समेत बुझाएका छन् ।
उत्तर प्रदेशको महाराजगंज जिल्ला स्थित जोगियाबारीमा भारतीय एसएसबी पोष्टको उदघाटन गर्न आउनुभएका गृहमन्त्री सिंहलाई सभासद तथा पूर्व कानून मन्त्री वृजेश कुमार गुप्ता, सभासद अभिषेक प्रताप शाह, सभासद नरसिंह चौधरीले भेट गर्नुभएको थियो ।
भाजपा नेता तथा गृहमन्त्री सिंहलाई भेटघाट गर्ने व्यवस्था महाराजंगका लोकसभा सांसद पंकज चौधरीले गर्नुभएको थियो । भेटका क्रममा सभासद वृजेश कुमार गुप्ताले मधेशी समुदाय संग विगतमा गरिएको सम्झौता कार्यान्वयन गराउन, शान्तिपूर्ण मधेश आन्दोलनमा दमन नगर्न, मधेशबाट सेना हटाउन तथा चारदलिय सिन्डीकेट हटाउन भारत सरकार मार्फत पहल गरिदिन आग्रह गर्नुभएको सदभावना नेता रविदत्त मिश्रले जानकारी दिनुभयो । भेटका क्रममा सिंहले आफुले यसबारे नेपाल सरकार संग कुरा गर्ने आश्वासन समेत दिनुभएको मिश्रले बताउनुभयो ।