विशेष गरेर नेवार समुदायले मनाउने गाई जात्रा पर्व आज मुलुक भरी मनाईदै

भदौ १३, काठमाण्डौ — विशेष गरेर नेवार समुदायले मनाउने गाई जात्रा पर्व आज मुलुक भरी मनाईदैछ । मुख्यगरि काठमाण्डु उपत्यकामा मनाइने गाइजात्रापर्व आजदेखि ८ दिनसम्म मनाउने गरिन्छ । भाद्रकृष्ण अष्टमीसम्म मनाइने गाईजात्रा पर्र्व काठमाडौँ उपत्यकाका तीन वटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाउने गरिन्छ । काठमाण्डु उपत्यकामा सार्वजनिक विदा दिइएको छ । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ ।

गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन् । किंवदन्ती वा इतिहासअनुसार राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाई भेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास छ । काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा पनि गाईजात्रा मनाउने गरिन्छ । गाईजात्राका क्रममा पछिल्लो पटक ब्याङ्ग्यात्मक कार्यक्रम हुने क्रम पनि बढेको छ । आज कलाकारहरुले ठउँ ठाउँमा व्याङ्ग्यात्मक कार्यक्रम गर्दैछन् ।