जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व आज मनाइँदै

भदौ १२, काठमाण्डौ—श्रावण शुक्ल पूर्णिमाका दिन आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने चलन छ ।
यस दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने गरिन्छ । विशेषगरी तागाधारी ब्राह्मण, क्षेत्री, वैश्य वर्गले वर्ष्दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे समाप्तिको दिनका रुपमा जनै पूर्णिमालाई लिने गरिन्छ ।
जनैपूर्णिमाको दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने चलन छ । तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाट लगायतका धार्मिक क्षेत्रमा बिहानैदेखि ठूलो मेला लागेको छ । तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ ।
नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।