मधेसी मोर्चाले वार्ताका विषयमा धारणा सार्वजनिक गर्दै

भदौ ११, काठमाडौँ – संविधान निर्माण प्रक्रियामा असन्तुष्ट मधेसी मोर्चाले आज वार्ताका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकार र मुख्य दलले गरेको वार्ता प्रस्तावबारे धारणा बनाउन बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकले वार्ताका लागि लिखित सर्त अघि सारेर धारणा बनाउने तमलोपाका सह–अध्यक्ष हृदयस त्रिपार्टीले सीआईएनलाई बताउनुभयो ।

बैठकपछि वार्ता प्रस्तावबारे औपचारिक धारणा सार्वजनिक गरिनेछ । मुख्य चार राजनीतिक दलले असन्तुष्ट दल र पक्षसँग सार्थक संवाद गरेरै समस्यामा समाधान गर्ने निर्णय गरेका छन् भने प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको लागि असन्तुष्ट दललाई पत्राचार नै गर्नुभएको छ ।

संविधानसभाभित्र र बाहिर रहेका दलसँग संवाद गरी उनीहरूलाई पनि विश्वासमा लिएर संविधान घोषणा गर्ने वातावरण तयार पार्न नेताहरुले पहल गरेका छन् । थारु, मधेसी, आदिवासी, जनजाति तथा दलित समुदायले विभिन्न माग राखी आन्दोलन गरिरहेका छन् । दलबीच धर्म, मतप्रतिशत सीमा, नागरिकता, संवैधानिक अंगका पदाधिकारीको पुनःनियुक्ति गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।