अफगानिस्तानलाई हराउँदै नेपाल फाइनलमा

भदौ १०, काठमाडौँ – नेपाल यु–१९ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानलाई ३–२ गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

ललितपुरस्थित एन्फा टेक्लिकल मैदानमा विहीबार भएको पहिलो सेमिफाइनल खेलको ३४औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि नै अञ्जन विष्टले पेनाल्टीमार्फत् अर्को गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म २ गोलले अगाडि रहेको नेपाल ५०औं मिनेटमा अनन्त तामाङले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा पुग्यो । त्यसपछि ५१औं मिनेटमा सुनिल बलले नेपालका लागि अर्को गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए । अफगानिस्तानले ७३औं मिनेटमा अर्को गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो ।

यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन र नेपाल ३–२ को जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो ।

यसैगरी, प्रतियोगिताअन्तर्गत विहीबारै साढे ३ बजे हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश भिड्दै छन् । भारत र बंगलादेशको विजेतासँग नेपालले उपाधिका लागि शनिबार खेल्ने छ ।