राजधानीमा पेट्रोलियम पदार्थको अभाव

भदौ १०, काठमाडौँ – राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको अभावका कारण निजी क्षेत्रका पेट्रोल पम्प बन्द हुँदा उपत्यकामा सेना, प्रहरी, सशस्त्र र साझा सहकारीबाट सञ्चालित पेट्रोल पम्पअगाडि लामो लाइन लागेर सवारी साधनमा इन्धन भर्न उपभोक्ता बाध्य छन् ।

तराईका जिल्लामा बारम्बार भइरहेका बन्दका कारण इन्धन आपूर्तिमा समस्या आउन सक्ने मनोवैज्ञानिक त्रासले उपभोक्ता सञ्चय गर्न आकर्षित भएपछि वितरणमा समस्या आएको हो ।
आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले एक साताअघि मात्रै पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थ आपूर्ति असहज हुन नदिने दाबी गरेका थिए । तर, उनले प्रतिबद्धता गरेको साता नबित्दै उपभोक्ता चर्को घाममा लामो लाइन बसी सवारी साधनमा इन्धन भर्न बाध्य भएका छन् ।
‘पालो आएपछि मोटरसाइलमा फुल ट्यांकी तेल हाल्ने धेरै छन्, त्यसैले लाइन पनि ढिलो सरिरहेको छ,’ उनले भने । सरकारले तोकेको मूल्य तिरेर सहज रूपमा पेट्रोलियम नपाउनु दु:खद भएको उपभोक्ताकर्मीको भनाइ छ । ‘आयल निगमले वितरणलाई चुस्त पार्न सकेन, पेट्रोल पम्प भनेको निगमकै अधिकृत विक्रेता हुन्,’ उपभोक्ताकर्मी माधव तिमिल्सनाले भने, ‘त्यसैले निगमले आफ्नो मौज्दातलाई पम्पबाट परिचालन गर्न नसकेको देखिन्छ ।’
उपत्यकामा औषत ३ लाख ५० हजार लिटर पेट्रोल र पाँच लाख ५० हजार लिटर डिजेल खपत हुने गर्छ । तराई बन्दका कारण पेट्रोलियम आपूर्तिमा असहज हुने आशंकाका कारण उपभोक्ताले सवारी साधनमा एकैपटक धेरै तेल भर्दा असहज देखिएको हो ।