घटनाबारे बुझ्न अझै टीकापुर पुगेनन् गृहमन्त्री र आइजिपी

भाद्र १०, काठमाडौं – कैलालीको टीकापुरमा भएको आक्रमणमा परेर ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको तीन दिन बितिसक्दा पनि गृहमन्त्री, प्रहरी महानिरीक्षक त्यहाँ गएका छैनन् । घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित पाँच र सशस्त्र प्रहरी बलका दुई जनाको ज्यान गएको थियो ।

थारु राज्यको माग राखेर आन्दोलन गरिरहेका समूहको आक्रमणमा परेर मनोबल घटेका बेला समेत उच्च अधिकारी त्यहाँ नपुग्दा सुरक्षाकर्मीहरु निराश बनेका छन् । गृहमन्त्री र महानिरीक्षक मात्र नभई क्षेत्रीय सुरक्षा प्रमुख समेत त्यहाँ निरीक्षणका लागि पुगेका छैनन् । घटनापछि फेरिएका कैलालीका प्रमुख जिल्ला अधिकारी अझै टीकापुर पुगेका छैनन् । इलाका प्रशासन कार्यालयले त्यहाँ अहिले कफ्र्यु र निशेधाज्ञा लगायतका आदेश दिँदै आएको छ । नयाँ जिम्मेवारी दिएर पठाइएका सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख माधव नेपाल धनगढीमा नै बसेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।